कैलालीको घोडाघोडीमा रहेको चिडिया ताल ओझेलमा

Jan 5, 2021

पुष २१ सुखड ।
कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर १ र २ मा करिब १ सय २७ हेक्टर क्षेत्रफलमा फैलिएको चिडिया ताल जलचर, थलचर, जिबजन्तु र चराचुरुङ्गीको प्रमुख बासस्थानको रुपमा पनि परिचित छ । रामसार सुचिमा सुचिकृत घोडाघोडी तालको परिपुरक तालको रुपमा रहेको सो ताल सिमसार तथा जैविक बिबिधताका हिसावले पनि निकै महत्वपूर्ण रहेको छ ।

परापुर्व काल देखिको पौराणिक महत्व र प्राकृतिक सुन्दरता बोकेको जलमग्न, सिमसार क्षेत्र र एकान्त मनोरम वातावरण भएकै कारण चिडीया ताल पर्यटन बिकासका लागि योग्य ठहरीएको हो । सिमसार, बन्यजन्तुको बासस्थान तथा बनस्पती समेत प्रसस्त मात्रामा पाईने भएकाले यस ताल क्षेत्रको बिकास गर्न आवश्यक रहेको स्थानीय चक्र बिष्ट बताए ।१४ वटा स साना तालहरुले सुन्दरता भरेको चिडिया तालको पर्यटन विकासको अथाहा सम्भावना भएपनि यसको विकासमा कसैले चासो नदिएको स्थानीहरु बताउछन ।

घोडाघोडी तालले सबैको ध्यान केन्द्रीत गरेकाले पनि यस तालमा सरकार तथा सरकारवालाहरुको नजर पर्न नसकेको देखिन्छ । घोडाघोडीको पहिचान संगै पर्यटन र स्थानीयहरुको आयआर्जन बृद्धीमा ठुलो सम्भावना बोकेको ताललाई ब्यवस्थित गर्न तीनै तहका सरकारले बेवास्ता गर्ने गरेको र घोडाघोडी ताललाई मात्र बढी महत्वमा राख्ने गरेकाले पनि चिडिया ताल ओझेलमा परेको अर्का स्थानीय सनेश शाहीलको भनाई छ ।

घोडाघोडी नगर सरकारले समग्र घोडाघोडीको पर्यटन बिकासका लागि पर्यटन विकास बोर्ड गठन गरी गुरुयोजना निर्माणको कामलाई अघि बढाएको छ । तर निर्माणाधिन गुरुयोजनामा घोडाघोडी ताल मात्रै समावेश हुने होकी भन्ने स्थानीयको आशंका छ । यता नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत खगेन्द्र बहादुर सिंहले भने घोडाघोडीमा पर्यटकीय सम्भावना बोकेका सबै तालहरुको विकास र व्यवस्थापनमा लागि परेको बतानु भयो ।

नगर सरकारले नगरका कुनैपनि ताललाई उपेक्षा गर्ने गरी काम नगरेको र चिडिया तालको बिकासका लागि समेत योजना निर्माण भईरहेको उहाको भनाई छ । उसो त घोडाघोडी नगरपालिका तालैतालको नगरका रुपमा पनि परिचित छ । अनुमानित ३० बढी तालहरु रहेको घोडाघोडीमा पर्यटकीय सम्भावना बोकेका तालहरुको पहिचान गरी आवयश्यक ब्यवस्थापन गर्न सके सो क्षेत्रको पहिचान संगै विकासमा समेत टेवा पुग्ने देखिन्छ ।