सल्लेरीमा निःशुल्क स्वास्थ्य शिविर

Jun 9, 2019

सरस्वती वानिया

जेठ २६, ओखलढुंगा

ओखलढुंगाको सिद्धिचरण नगरपालिकाले वडा नं. ८ सल्लेरीमा स्वास्थ्य शिविर सम्पन्न गरेको छ । स्वास्थ्य शिविरवाट सल्लेरीको ३ सय ५८ जनाले सेवा लिएको नगरपालिकाले जनाएको छ ।

शिविरमा सहभागी विरामीहरुलाई सामान्य स्वास्थ्य जाँच देखी विशेषगरि क्षयरोगको अवस्थाको बारेमा स्वास्थ्य परीक्षण गरिएको थियो । क्षयरोग निदानको लागि नागरिकको  अवस्थाको बारेमा जानकारी लिने उद्देश्यका साथ सल्लेरीको स्वास्थ्य शिबिरमा खकारको नमुना संकलनको लागि माइक्रोस्कोपी क्याम्प समेत सञ्चालन गरिएको थियो ।

शिविरमा जिल्ला अस्पताल रुम्जाटार र ओखलढुंगा सामुदायिक अस्पतालका मेडिकल अधिकृत, प्रयोगशालाका प्राविधिक कर्मचारी, सिद्धिचरण नगरपालिका स्वास्थ्य शाखाका कर्मचारीहरुले स्वास्थ्य जाँच, औषधी वितरण खकार नमूना स्लाइडको परिक्षण गरेका थिए ।  शिविरमा २३४ जना महिला र १२४ जना पुरुष गरि जम्मा ३५८ जनाले सेवा लिएका छन् । सेवा लिनेहरु मध्ये १२० जना जेष्ठ नागरिकहरु रहेका छन् ।

शिविरमा संकलन गरिएको खकारको नमुनाको स्लाइडको जाँच ओखलढुंगा सामुदायिक अस्पतालको सुक्ष्मदर्शक यन्त्रको सहायताले गरिने आयोजकले जनाएको छ । जाँच गरिएको रिपोर्ट एकहप्ता भित्र सम्बन्धित बिरामी वा अभिभावकलाई स्वास्थ्य चौकी सल्लेरी मार्फत उपलब्ध गराईने सिद्धिचरण नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । 

शिविरले क्षयरोग जस्तो खतरनाक सरुवा रोगको नियन्त्रणमा अहम भुमिका खेल्ने तथा यसबाट ठूलो धनजनको क्षेतिलाई बचाउने अपेक्षा गरिएको छ । यसैगरि नगरपालिकाले नगरपालिका क्षेत्रका अन्य वडाहरुमा समेत क्रमश स्वास्थ्य शिविर सञ्चालन गर्दै जाने बताएको छ ।