सिकलसेल जाँच गर्न बिरामीलाई जिल्ला बाहिर जानु नपर्ने

Jun 21, 2019

प्रेमबहादुर राम्जा
असार ६, दाङ

सिकलसेल एनिमियाका बिरामीलाई स्वास्थ्य जाँचका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता टरेको छ । तुलसीपुरमा रहेको राप्ती प्रादेशिक अस्पतालमा एनिमिया जाँचका लागि मेसिन जडान भएपछि बिरामीलाई जिल्ला बाहिर जानुपर्ने बाध्यता टरेको हो ।

यसअघि जिल्लामा सिकलसेल एनिमियाको रगत परिक्षणका लागि जिल्ला बाहिर पठाउनुपर्ने अबस्था थियो । मेसिन जडान भएपछि अब बिरामीको सम्पुर्ण जाँच जिल्लामै हुने भएको छ । बिरामीलाई सहज हुने भएको छ ।

अस्पतालमा एचपिएलसी मेसिन जडान भएको छ । जसबाट सिकलसेल एनिमिया, फेलीसिमिया र सुगर जाँच गर्न सकिने अस्पतालका प्रमुख डा. प्रबेश शर्माले जानकारी दिनुभएको छ । जिल्लाका बिरामीहरु स्वास्थ्य जाँचका लागि बाँकेको नेपालगञ्जमा रहेको भेरी अञ्चल अस्पतालमा जाुन पर्ने बाध्यता थियो ।

प्रदेश सरकार र तुलसीपुर उपमहानगरले त्यसलाई मध्यनजर गर्दै मेसिन जडान गरेका हुन् । मेसिन प्राप्त भएपछि औषधीको ब्यबस्थापनका लागि पहल गरीरहेको प्रमुख शर्माले जानकारी दिनुभएको छ । जिल्लाका सिकलसेल एनिमियाका बिरामीहरुले राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानबाट औषधी सेवन गर्दै आएका छन् । त्यस बाहेक जिल्लामा सिकलसेल एनिमियाका बिरामीले अन्य सुबिधा पाउन सकेका थिएनन् ।

पहिलो पटक प्रदेशमै प्रदेशस्तरको अस्पतालमा यस्तो मेसिन जडान गरिएको प्रमुख शर्माले जानकारी दिनुभएको छ । प्रदेशका दाङ, बाँके, बर्दिया, कपिलबस्तु, रुपन्देही तथा पश्चिम नवलपरासीमा थारु समुदायको बस्ती रहेको भन्दै प्रदेश सरकारले उनीहरुको स्वास्थ्य जाँचका लागि कार्यक्रम तथा मेसिन खरिद गर्ने कार्यक्रम चालु आर्थिक बर्षमा तय गरेको थियो ।

प्रदेशको सामाजिक बिकास मन्त्रालय मार्फत् सिकलसेल एनिमिया जाँचका लागि यस्तो अभियान थालिएको हो । यस्तै प्रदेशका विभिन्न स्थानीय तहले पनि सिकलसेल एनिमिया रोग न्यूनीकरणका लागि विभिन्न कार्यक्रम सञ्चालन गरीरहेका छन् ।

तुलसीपुर उपमहानगरले मेसिन खरिदमा सहयोग गरेको छ भने घोराहीले तीन स्थानमा शिबिर सञ्चालन गर्ने जनाएको छ । सिकलसेल एनिमिया रोगले थारु समुदायका ब्यक्तिलाई बढी प्रभावित बनाएको छ । पुर्खामा रहेको जीनका कारण यो रोग थारु समुदायमा बढी देखिएको हो ।

मानिसको शरिरमा रहेको रगतलाई हसियाँ आकारमा बदल्ने कारण रक्त सञ्चारमा पार्ने प्रभावले मानिसलाई कमजोर बनाउने गर्दछ । थारु समुदायका पुस्ताहरु औलोको प्रकोप रहेको समयमा तराई क्षेत्रमा बसोबास गर्ने भएका कारण यो रोगले बिकराल रुप लिएको स्वास्थ्यकर्मीहरुको भनाई छ ।

सिकलसेल एनिमिया जाँचका लागि थुप्रै समय लाग्ने राप्ती प्रादेशिक अस्पतालका मेडिकल टेक्नोलोजी प्रमुख पद्मनाथ घिमिरेले जानकारी दिनुभयो । सबै हेर्न लाग्ने हो भने धेरै समय लाग्छ घिमिरेले भन्नुभयो कममा पनि एक घण्टामा रोग पत्ता लाग्न सक्छ ।

यसैबीच राप्ती प्रादेशिक अस्पतालमा मेसिन जडान गरिएपछि प्रयोगशालामा काम गर्ने स्वास्थ्यकर्मीहरुलाई तालिम दिन सुरु गरिएको छ । चामुण्डा ट्रेनिङ हाउसका म्यानेजर सुलभ आचार्यले तालिम दिइरहनुभएको छ । मेसिन जडान भए पनि उनीहरुलाई तालिम दिएर सञ्चालनमा ल्याइने अस्पतालका प्रमुख डा। शर्माको भनाई छ । उक्त मेसिनको राप्ती का लागि आधिकारिक बिक्रेता युनाइटेड साइन्टिफिक एण्ड सर्जिकल हाउस प्रा लि रहेको छ ।