#धुलिखेल कारागारका कैदीबन्दी सिप सिकेर आम्दानी गर्दै, घर परिवारसँग खर्च माग्नु नपरेको भनाई

Mar 12, 2020

जिल्ला कारागार धुलिखेलका कैदीबन्दीले सिप सिकेर राम्रो आम्दानी गर्न थालेका छन् । जेलर जङ्ग बहादुर राईका अनुसार अहिले जिल्ला कारागार धुलिखेलमा ७३ जना थुनुवा र १ सय ६० जना कैदीबन्दी छन् । त्यस मध्ये ५० जनाले मुढा र थुन्चे बनाउँछन भने १० जनाले पोत्ते बुन्छन् । दुई जनाले सिरक, डस्ना बनाउने काम गर्छन् । उहाँका अनुसार कैदीबन्दीले बनाएका सामान बलियो हुने भएकाले धेरैले रुचाउने गरेका छन् । साढे तीन वर्षदेखि जिल्ला कारागार धुलिखेलमा कैद भुक्तानी गरिरहेका काभ्रेको रोशी गाउँपालिका वडा नम्बर २ का बिल बहादुर कार्कीले मुढा बनाएर मासिक ४ हजार देखि ४ हजार ५ सयसम्म कमाउने गरेको बताउनुभयो । त्यस्तै धुलिखेल काराकारमै रहेका सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरी गाउँपालिका वडा नम्बर १ का पूर्ण थामीले थुन्चे बुनेर मासिक तीन हजार पाँच सय देखि ४ हजारसम्म कमाउने गरेको बताउनुभयो । सामाग्री उत्पादनका लागि चाँहिने आवश्यक कच्चा पदार्थ कारागारका नाइके राजन थापाले ब्यवस्थापन गर्दै आउनुभएको छ ।