जिल्ला अस्पताललाई स्क्रब टाइफस परिक्षण किट उपलब्ध

Sep 29, 2019

विनोद सिंह विष्ट–बैतडी,१२ असोज-

बैतडीको दशरथचन्द नगरपालिकाले जिल्ला अस्पताल बैतडीलाई स्क्रब टाइफस परिक्षण किट उपलब्ध गराएको छ । देशैभरी स्क्रब टाइफसका बिरामी फेला परेकाले स्क्रब टाइफस रोग परीक्षणमा सहयोग पुर्याउने हेतुले कीट उपलब्ध गराएको नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख विनोदबहादुर चन्दले जानकारी दिनुभयो ।
अस्पताललाई २५ ओटा कीट उपलब्ध गराएको उहाँले बताउनुभयो । मुसाको शरीरमा हुने माइट नामक जीवाणुको टोकाइबाट हुने स्क्रब टाइफसको संक्रमण हुने गर्दछ । दशरथचन्द नगरपालिकाले किट उपलब्ध गराएपश्चात जिल्लामै रोग पत्ता लगाउन सजिलो भएको अस्पतालले जनाएको छ ।
मुसाको शरीरमा हुने माइटबाट सर्ने यो रोग लागेमा ज्वरो आउने, शरीरमा राता डाबर हुने लगायतका लक्षण देखा पर्ने गरेका छन् । डडेल्धुरामा अस्पतालमा चेकजाँच गराएका मध्ये बैतडीका २४ जनामा स्क्रब टाइफस देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
यसका साथै यसअघि पनि दशरथचन्द नगरपालिकाले जिल्ला अस्पताललाई ४५ वटा डेंगु परीक्षण कीट उपलब्ध गराएको थियो । यसका साथै नगरपालिकाले स्क्रब टाइफस र डेंगुवाट बच्नको लागी विभिन्न समेतनामूलक कार्यक्रम समेत सञ्चालन गरिरहेको छ ।