भागेस्वर रेडियो श्रोता समुहकोे छलफल सम्पन्न


अमरगढि नगरपालिकाको वडा नम्बर ८ मा रहेको भागेस्वर रेडियो श्रोता समुहको नियमित बैठक आइतबार सम्पन्न भएको छ । पारस्पारिक जवाफदेहिता परियोजना सञ्जीबनि नेपालद्वारा जिल्लामा सञ्चालित कार्यक्रम अन्तर्गत श्रोता समुहको गठन भएको हो ।

सुशासन, स्थानिय विकास तथा पारस्परिक जवाफदेहिता बारे छलफल हुने रेडियो कार्यक्रमहरु साझाबोली र साथीसंग मनका कुरा सुन्दै आफ्नो टोलछिमेकमा पनि यस बारे बहस गर्ने र सुनेर थाहा पाएका कुरा आफ्नो व्यवहारमा समेत उतार्ने उदेश्यका साथ यो रेडियो समुह गठन भएको हो ।

उक्त बैठकमा श्रोता समुहका सम्पुर्ण सदस्यहरु उपस्थित भई रेडियो कार्यक्रम साझाबोली सुन्नुका साथै छलफल समेत गरेका थिए । जिल्लामा रहेको रेडियो सुदुर आवाज ९५ मेगाहर्जबाट हरेक आइतबार बेलुकी ६:३० बजे प्रसारण हुने यो कार्यक्रम सुनेर आफ्नो समुदायमा पनि नागरिक समाज एवं सरकारी निकायविचको जवाफदेहिता खोज्ने, नागरिक निगरानी गर्ने र कार्यक्रमलाई प्रतिक्रिया दिने समेत सो समुहको योजना छ ।

साथै समुहले शिक्षा, स्वास्थ्य, कृषि र प्रकोप व्यवस्थापन जस्ता अन्य सवालहरुमा समेत आफ्नो समुदायको ध्यान आकर्षण गराई सरोकारवालाहरुलाई जवाफदेही बनाउन आफ्ना कुराहरु सम्बन्धित कार्यालयमा र्पुयाउने उदेश्य पनि राखेको छ । यसका लागि श्रोता समुहको बैठक महिनामा २ पटक बस्नेगर्छ । बैठकमा रेडियो कार्यक्रम सुन्ने र कार्यक्रम सुनिसकेपछि कार्यक्रममा समेटिएका सुचनाहरुलाई टिपोट गरेर छलफल गरिन्छ । हालसम्म बसेको श्रोता समुहको बैठकबाट धेरै साथीहरुले स्थानिय तहको जवाफदेहिता र स्थानिय तहले नयाँ परिवेशमा के कस्ता सेवाहरु उपलब्ध गराउँछ भन्ने जानकारी आफूहरुले पाएको समेत श्रोता समुहका सहजकर्ता कमल पालको भनाई छ । श्रोता समुहमा १६ देखि ४० बर्षसम्मका महिला, पुरुषका साथै दलित गरी समावेशी सहभागिता गरी १७ जना सदस्यहरु छन् । कार्यक्रम युसएआईडी, एफएचआइ ३६० को आथिर्क सहयोगमा संजीवनी नेपाल डडेल्धुराको आयोजनामा सम्पन्न भएको हो ।