तामाकोशीमा संक्रमितलाई सघाउन युवा सकृय, दीर्घरोगीलाई निशुल्क औषधि

Jun 2, 2021

बिमला बुढाथोकी, दोलखा जेठ १७ – दोलखाको तामाकोशी गाउँपालिकामा कोभिड नियन्त्रण तथा रोकथाम समितिमार्फत् युवाहरुले सकृय भूमिका निभाएका छन् । यूवा समूहले वडा नंवर ४ र ५ मा संक्रमितका लागि पोषिलो खानाको व्यवस्था गरेका छन् । युवाहरुले स्थानीय सरकारलाई प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहयोग गरिरहेको पालिका प्रवक्ता होमबहादुर श्रेष्ठले बताउनुभयो । पालिकाको वडा नम्बर ४ र ५ मा कोष नै खडा गरेर स्थानीय युवा समुहले कोरोना संक्रमितहरुलाई पौष्टिक खानेकुरा वितरण गरिरहेका छन ।
संक्रमित बढि भएका ठाउँ चारमालूमा अक्सिजनसहित नौ वेडको कोभिड नाइन्टिन अस्थाई अस्पताल निर्माण भएको छ । पालिकामा कोरोना संक्रमण फैलिनासाथ स्वाब संकलन, एन्टिजेन परिक्षणदेखि जिवनशैली परिवर्तनका विषयमा परामर्श दिने गरेको गाउँपालिका स्वास्थ्य शाखा संयोजक अरुणकुमार मिश्रले जानकारी दिनुभयो । जटिल प्रकारको उपचारको लागी भने बिरामीहरुलाई चरिकोट अस्पताल र धुलिखेल अस्पताल काभ्रे लैजान शिफरिस गरिन्छ । दीर्घरोगीहरुलाई आवश्यक औषधी निशुल्क रुपमा वितरण गरेर चर्चामा रहेको तामाकोशी गाउँपालिकाले दोस्रो चरणको कोरोना फैलिएका बेला भने प्रत्येक नागरिकको घर–घरमा पुगेर स्वास्थ्य परिक्षण गरिरहेको छ ।
कोरोनाले बजेट निर्माण प्रभावित कृषि स्वास्थ्य र शिक्षा प्राथमिकतामा
जवै जनशक्ति कारोना बिरुद्ध लगाउनुपरेकोले सामाजिक सञ्जालको माध्यमबाट बजेटका लागि राय सुझाव संकल गर्ने तयारी भैरहेको छ । बजेट निर्माणमा ढिलाई हुने देखिएपनि गतबर्ष झैँ यसवर्ष पनि शतप्रतिशत बजेट खर्च हुने अनुमान छ । पालिकाले कृषिलाई पहिलो प्राथमिकतामा राख्दै ३, ४ र ६ नम्बर वडालाई गाई भैँसी पकेट क्षेत्र, ७ नम्बर वडालाई बङ्गुर पालन र १, २, र ५ नम्बर वडालाई बाख्रा पालन पकेट क्षेत्रको रुपमा कार्यक्रम गरिरहेको छ । गाउँपालिकाले गत बर्ष कृषि कार्यक्रमका लागी ४ करोडभन्दा बढि रकम विनियोजन गरेको छ ।
गाउँपालिकाका सात वटै वडामा स्वास्थ्यचौकी भवन निर्माण गरिएको छ । स्वास्थ्यचौकीको भवनबाट प्रसुति सहितका सेवा प्रवाह हुने गरेका छन् । पालिकाले स्वास्थ्य सेवालाई चुस्त पार्दै नागरिकमैत्री बनाउन २ करोड ३ लाख रकम विनियोजन गरेको छ । आगामी आर्थिक बर्ष २०७८ ०७९ मा यिनै कार्यक्रमलाई निरन्तरता दिने गरी निति तथा कार्यक्रम ल्याउने तयारी छ । गाउँपालिकाले आगामी आर्थिक बर्षदेखि विद्यालयहरुमा नयाँ भवनबाट पठनपाठन अघि बढाउने तयारी थालेको छ । पालिकामा अधिकाशं विद्यालयको भवन निर्माण अन्तिम चरणमा पुगेकोले आगामी आर्थिक बर्षदेखि नयाँ भवनबाट पठन पाठनलाई अघि बढाउने गरि काम भइरहेको हो ।