सहकारी संस्थाद्वारा किसानलाई घरदैलोमै धानको बिउ वितरण

May 18, 2020

 

कञ्चनपुरमा सहकारी संस्थाले घर घरमै पुगेर किसानलाई धानको बिउ वितरण गरेका छन् । महेन्द्रनगरमा रहेको उदयदेव सहकारी संस्थाले लकडाउनका बेला किसानको घरदैलोमै पुर्याएर धानको बिउ वितरण गरेको हो ।


सरकारले कोरोना भाइरसलाई नियन्त्रण तथा रोकथामको लागि देशव्यापी रुपमा गरेको लकडाउनका कारण किसानलाई समस्या नहोस भने घरदैलो कार्यक्रम मार्फत धानको बिउ वितरण थालिएको उदयदेव सहकारी संस्थाले जनाएको छ । संस्था अनुसार किसनाको मागलाई मध्यनजर गर्दै धानको बीउ घर घरमा पुर्याइएको हो ।


बर्खा सुरु भएसँगै किसानलाई धानको बिउको आवश्यकता परेपनि लकडाउनमा ढुवानीको समस्या भएकाले किसान आत्मानिर्भर बनाउन घर घरमा बिउ पुर्याउने काम भइरहेको उदयदेव सहकारी संस्थाका प्रमुख गणेश चन्दले बताउनु भयो ।
उहाका अनुसार ५० प्रतिशत अनुदानमा किसानको माग अनुसार सबै पालिकामा धानको बिउ पुर्याउने काम भइरहेको छ ।
हालसम्म बेलौरी नगरपालिकामा २१ क्विन्टल ,शुक्लाफाँटामा १५ बोरा, भीमदत्त नगरपालिकामा २३ क्विन्टल, महाकाली नगरपालिकामा ७ बोरा धान बिउ वितरण गरिएको छ ।


यस्तै, मनसुली धानको बिउ प्रतिबोरा ११ सय १० रुपैया (३०किलो), हल्दिनाथ, राधाचार प्रतिबोरा १ हजार ५० रुपैयाँ (३० किलो) का दरले किसानको माग अनुसार घरदैलोमै उपलब्ध गराइएको उहाँको भनाई छ ।