धादिङका किसानलाई कोरोनाको भन्दा मलको चिन्ता

Jun 3, 2021

सरिता श्रेष्ठ, धादिङ जेठ २० - पानीको अभावमा जसोतसो चैते धान रोपेका किसानहरुलाई यतिबेला रासायनिक मलको अभावले सताउन थालेको छ । गतवर्ष पनि यहि समयमा मलको अभाव भएपछि मलका लागि किसान आन्दोलित भएका थिए । कोरोना भाइरस (कोभिड १९) को संक्रमण बढिरहेको समयमा आफुलाई कोरोनाको भन्दा मलको चिन्ता भएको नीलकण्ठ नगरपालिका वडा नं ४ का गीता ठकुरीले बताइन् । ‘चैतमा रोपेको रोपोमा मल हाल्ने बेला भएको छ, अब मंसिरे धान लगाउन बीउ राख्ने समय पनि भएको छ,’ उनले भनिन्, ‘खेती गर्ने समयमा बर्षेनी मलको अभाव व्यहोर्दै आइरहेका छौँ, अहिले कोरोनाको भन्दा पनि मल नपाइने हो कि भन्ने चिन्ता छ ।’

गत वर्ष कोरोना महामारीको समेत बेवास्ता गर्दै किसानहरू मल लिन निकै लामो लाइन बस्नु परेको थियो । यस वर्ष पनि बुधबार सदरमुकामस्थित निलकण्ठ सहकारीमा मल किन्न किसानहरुको भिड नै लाग्यो । मल वितरण गर्ने भन्ने थाहा पाएपछि किसानहरुको बिहानेदेखि सहकारीको प्राङगणमा भिड लागेको थियो । चर्को घाममा दिनभर बसेर जसोतसो मल पाएका किसानहरु खुसी देखिन्थे । केही किसान भने रित्तो हात घर फर्कनु परेको थियो ।

जिल्लामा किसानको हातमा मल वितरणको जिम्मा विभिन्न कृषि सहकारीलाई दिएको छ । स्थानीय तहलाई तोकिदिएको कोटाका आधारमा स्थानीय तहले सिफारिस गरेको विवरणका आधारमा मल उपलब्ध गराउने गरिएको छ । यस वर्ष पनि सहकारीहरुमा मल लिन तथा मलका बारेमा चासो राख्ने किसानहरू देखिन थालेका छन् । सहकारीमा उपलब्ध भएको १ सय बोरा मल १ बोरा १० किलोको दरले वितरण गरेको नीलकण्ठ सहकारी संचालक समितिका उपाध्यक्ष खगेन्द्र कोइरालाले जानकारी दिए । मल एक सय बोरा मात्रै आएकाले धेरै किसान रित्तो हात फर्किन परेकोे कोईरालाले बताए ।

कृषि सामाग्री संस्थान गजुरीले भने गत वर्ष जस्तो यो वर्ष मल अभाव नहुने बताएको छ । किसानको माग बमोजिम मल उपलब्ध गराउन नसकेपनि गत वर्षको तुलनामा यस वर्ष बढि मल वितरण भईसकेकाले यो वर्ष विगतका वर्षहरुमा जस्तो समस्या नपर्ने कृषि सामाग्री सस्थान गजुरीका कार्यालयका प्रमुख विनोद शर्माले बताए । जिल्लामा कृषि संस्थान गजुरीमा सूचिकृत ९५ ओटा सहकारीले मल वितरण गर्दै आईरहेको छ । धादिङ जिल्लामा वार्षिक ३ हजार मेट्रिकटन यूरिया मल, ९ सय मेट्रिकटन डिएपी र ५५ मेट्रिकटन पोटास मलको माग हुनेको गरेको छ ।