जनप्रतिनिधीहरुलाई योजना तर्जुमासम्बन्धी तालिम

May 8, 2018

एकीकृत ग्रामीण विकास समाज गुल्मीको आयोजनामा गुल्मीदरबार गाउँपालिकाका जनप्रतिनिधीहरुका लागि योजना तर्जुमा र कार्यान्वयन प्रक्रिया सम्बन्धी तालिम सम्पन्न भएको छ ।
गाउँपालिकाभित्रको योजना तर्जुमा प्रक्रियालाई जनसहभागितामुलक र व्यवस्थित बनाउनका लागि तालिमको आयोजना गरिएको गाउँपालिका अध्यक्ष अशोक थापाले बताउनुभयो । उक्त तालिममा योजना निर्माण,योजना तर्जुमाका चरण र प्रक्रिया, उपभोक्ता समिति गठन, सार्वजनिक परीक्षण र योजनाको कार्यान्वयनसम्बन्धी विषयवस्तुहरु समावेश गरिएको थियो । तालिममा रेसुंगा नगरपालिका गुल्मीका कार्यक्रम अधिकृत शंकरप्रसाद गौतम, गुल्मीदरबार गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामप्रसाद शर्मा, एकीकृत ग्रामीण विकास समाजका अध्यक्ष हिरा ए.सी.,उपाध्यक्ष र भगवती श्रीस र ओम कार्कीले सहजीकरण गर्नुभएको थियो ।

तालिम पश्चातको समापन समारोहमा बोल्दै तालिम निकै उपलब्धिमुलक र व्यवहारिक रहेको सहभागी गाउँकार्यपालिकाका सदस्य ईश्वरी परियारले बताए । साथै प्रमुख प्रशासकीय अधिकृत शर्माले योजना तर्जुमा प्रक्रियालाई जनसहभागितामुलक बनाउने र यसमा देखिएका कमीकमजोरीलाई सुधार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरे । उक्त तालिममा गाउँपालिका २८ जना जनप्रतिनिधीहरुको सहभागिता रहेको थियो । एकीकृत ग्रामीण विकास समाज गुल्मीले अन्य स्थानीय तहमा समेत सुशासन र जवाफदेहिताका क्षेत्रमा काम गर्दै आएको छ ।