कृषकलाई स्मार्ट फोन वितरण

May 10, 2018

डोटी, बैशाख २७ गते । किसानलाई सुचना प्रबिधी मैत्री बनाउन डोटीमा विभिन्न ४३ वटा कृषि समुहहरुलाई स्मार्ट फोन र सिम वितरण गरिएको छ । किसानलाई जलवायु परिवर्तनका असर बारे सचेत गराउने र कृषि सम्बन्धी सुचना जानकारीहरु घरमै बसी थाहा दिने उद्देश्यले सिम र स्मार्ट फोन वितरण गरिएको हो ।

विश्व बैंकको आर्थिक सहयोगमा नेपाल सरकार, कृषि बिकास मन्त्रालय, जलवायु प्रकोप समुत्थान परियोजनाको सहयोगमा व्यावसायिक रुपमा कृषि र पशुपालन कार्यमा रहेका समुहहरुका प्रतिनिधीलाई स्मार्ट फोन वितरण गरिएको हो । 

जिल्ला कृषि बिकास कार्यालय डोटीका प्रमुख डा. तपेन्द्र बहादुर शाहका अनुसार स्मार्ट फोनमा हाम्रो कृषि नामको ‘मोबाइल एप्लिकेशन’ राखिएको छ । एप्लिकेशनका माध्यामबाट कृषकहरुले सोझै कृषि विज्ञसँग रोग, किरा, विउ र हावापानी लगायतका विषयमा जानकारी लिन सक्छन्। कार्यालयका प्रमुख शाहले भन्नु भयो –“विश्वव्यापी रुपमा जलवायु परिवर्तनले कृषि क्षेत्रमा नकारात्मक असर गरिरहेकोले कृषकहरुलाई हावापानी/मौसम अनुकुलताका आधारमा कृषि पेशा संचालन गर्न सहज होस र उपयोगी जानकारी प्राप्त होस भन्ने उद्देश्यले स्मार्ट फोन वितरण गरिएको हो ।”

किसानहरुलाई स्मार्ट फोनका साथै रेन गेज (वर्षा मापक यन्त्र) थर्मोमिटर (तापक्रम मापक यन्त्र) समेत वितरण गरिएको छ । जिल्ला समन्वय समिती डोटीको सभाहलमा औपचारिक कार्यक्रम गरी उक्त उपकरणहरु वितरण गरिएका हुन्। स्मार्ट फोन लगायतका उपकरण वितरण कार्यक्रममा प्रगतिशिल बाख्रा पालन कृषक समुहका अध्यक्ष हेमप्रसाद खत्रीले मोवाईल एप्लिकेशन र अन्य उपकरणले उत्पादन बढाउनमा सहयोग गर्ने बताउनु भयो । अध्यक्ष खत्रीले भन्नु भयो – हामीलाई केहि समस्या आएमा यस प्रबिधिको प्रयोगबाट सिधै विज्ञसँग सम्पर्क गर्नसक्ने भएका छौ । यस बाट गाउँका अन्य कृषकलाई पनि सहज भएको छ ।