किसानलाई व्यावसायिक कृषिमा आकर्षित गर्न, कृषि कर्जामा अनुदान



जगतदल जनाला वि।क
सुर्खेत, १२ फाल्गुन ।
कर्णाली प्रदेशको भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले किसानलाई व्यावसायिक कृषि र पशुपालनमा आकर्षित गर्न, कृषि कर्जामा अनुदान कार्यक्रम ल्याएको छ ।
‘मेरो किसान, मेरो अन्नदाता’ नारासहित प्रदेश सरकारले कृषि कर्जामा ब्याज अनुदानको कार्यक्रम अघि सारेको छ ।

अर्गानिक प्रदेशको अवधारणालाई कार्यान्वयनमा ल्याउन सरकारले ब्याज अनुदान दिने गरी आवश्यक प्रक्रिया सुरु गरिएको प्रदेश सरकारका प्रवक्ता एवम् भुमी व्यवस्था तथा सहकारी मन्त्री विमला केसीले बताइन् । सोमवार कर्णाली प्रदेश सरकार मन्त्रीपरिषद्को निर्णयहरु सार्वजनिक गर्दै मन्त्री केसीले कृषकले लिएको कृषि कर्जाको ब्याजका लागि चालु आर्थिक वर्षमा ३ करोड रुपैयाँ विनियोजन गरिएको जानकारी दिइन् ।

‘प्रपोजल या अन्य माध्यमबाट कृषि क्षेत्रमा दिइएको अनुदान रकम दुरुपयोग भएको र खास व्यावसायिक किसानसम्म नपुगेको गुनासो जनस्तरबाट आएपछि ब्याजको कार्यक्रम सुरु गरेका छौं ।’ उनले भनिन्,’ व्यवसायको प्रकृति हेरेर १ करोड रुपैयाँसम्म कर्जा लिन पाउने कार्यविधि मन्त्रीपरिषद्बाट स्वीकृत भएको छ ।
पेशा र व्यवसाय अनुसार कर्जाको व्यवस्था गरिएको बताउँदै मन्त्री केसीले यो कार्यक्रमले कृषिमा नयाँ क्रान्ति ल्याउने विस्वास गरिन् ।
स्थानीयस्तरमा कृषि तथ्यांक संकलन गरि पाँच वर्षका लागि ३ प्रतिशतका दरले ब्याज अनुदान वितरण गरिने मन्त्री केसीको भनाई छ ।फागुन ५ गते कर्णाली प्रदेश सरकार, मन्त्रीपरिषद्को बैठकबाट आठवटा निर्णयहरु गरेको छ ।