संसदसामु सरकारलाई जनताको गुनासो

जगतदल जनाला विक

सुर्खेत, २० माघ । कर्णाली प्रदेशसभा स्थापना भएको मंलबार २ वर्ष पुग्दैछ । सोही अवसरमा सोमबार प्रदेशसभाको आयोजनामा खुला अन्तरक्रिया गरियो । कार्यक्रममा सहभागीले प्रदेश सरकारका उपलब्धी र गरेका कामको तारिफ गर्नुभन्दा गुनासोहरु धेरै गरे । यी गुनासोहरुलाई सरकारसमक्ष पु¥याउने सहभागीले प्रदेशसभाका पदाधिकारीलाई आग्रह गरे ।
वीरेन्द्रनगरकी अञ्जु विकले अघिल्लो वर्ष प्रदेश सरकारले बजेट खर्च गर्न नसकेर फ्रिज भएको उदाहरण दिंदै अहिले ६ महिना बितिसक्दा पनि किन ३ प्रतिशतमात्र बजेट खर्च भयो भनेर सभामुखलगायत प्रदेशका सरकारका मन्त्रीलाई प्रश्न गरिन् । अधिवक्ता सिमा धामीले न्यायिक र सुशासनका विषयमा प्रदेश सरकाले चासो देखाउनपर्ने बताइन् ।


व्यवसायी पूर्ण अधिकारीले भ्रमण वर्षमा गरिएको खर्च उपलब्धीमूलक हुनुपर्ने बताए । कति पर्यटक आए र उनीहरुको आर्कषणका लागि प्रदेशले थप योजना ल्याउनुपर्ने उनको भनाइ थियो । स्थानीय युवा टेकराम थापाले युवालाई चुनाव र अन्य बेला ढुङ्गामुढा हान्नमात्र पठाउने कि प्रदेशमै केही रोजगारीका अवसरहरु सिर्जना गर्ने भन्दै प्रश्न गरे । बढ्दो भ्रष्टाचारलाई न्यूनीकरण गरी कर्णालीको विकासलाई मध्यनजर राख्न उनको सुझाव थियो ।
कानुनकी विद्यार्थी विनिता बोगटीले छाउपडी प्रथा अन्त्यका लागि भटाभट गोठ भत्काउनुभन्दा उनीहरुलाई जनचेतनाको माध्यमबाट प्रदेश सरकारले नीति नियम बनाएर अगाडी बढ्न सुझाव दिइन् । उनको भनाइमा सहमति जनाउँदै वीरेन्द्रनगर–४ की युगकुमारी खड्काले सरकारले छाउगोठ भत्काउनेभन्दा कसरी मानसिकता परिवर्तन गर्ने भन्नेतिर सोच्नुपर्ने बताइन् ।
मुस्लिम समुदायको शिक्षाको धरोहरका रुपमा रहेको मदरसालाई पनि अन्य विद्यालयसरह बजेट बिनियोजन गर्न समीना बानुले अनुरोध गरिन् ।

कर्णाली प्रदेशसभाका सभामुख राजबहादुर शाहीले सम्पूर्ण जिज्ञासा र सुझावको कार्यान्वयन गर्ने प्रतिवद्धता गर्दै संविधानले तोकेका जिम्मेवारीभित्र रहि कार्यसम्पादन गर्ने बताए । प्रदेशसभामार्फत जनतालाई प्रत्यक्ष फाइदा पुग्ने कार्यक्रम ल्याइने उनको भनाइ थियो ।