रातमाटे स्वास्थ्य चौकी भवन समुदायलाई हस्तान्तरण

Jun 9, 2018

जेठ २६ गते, नुवाकोट । भूकम्पले क्षति पुगेपछि पुनःनिर्माण गरिएको नुवाकोटको बेलकोटगढी नगरपालिका–७ स्थित रातमाटे स्वास्थ्यचौकी भवन समुदायलाई हस्तान्तरण गरिएको छ । भूकम्प पश्चात स्वास्थ्य सेवा सुधार कार्यक्रम’ अन्तर्गत कोरिया अन्तर्रा्ष्ट्रिय सहयोग नियोग (कोइका)को आर्थिक तथा प्राविधिक सहयोगमा सयुक्त राष्ट्रसंघ विकास कार्यक्रम (युएनडिपी) मार्फत निर्माण गरिएको विपद् प्रतिरोधी पक्की संरचनायुक्त सो भवन समुदायको स्वास्थ्य स्तरोन्नतिका लागि हस्तान्तरण गरिएको हो । महादेवफाँटमा निर्माण गरिएको रातमाटे स्वास्थ्य चौकी भवनको उद्घाटन गर्दै बेलकोटगढी नगरपालिकाका प्रमुख राजेन्द्ररमण खनालले स्वास्थ्य सेवा सञ्चालन अधिकार स्थानीयतहमा प्राप्त भएकाले सुधारका लागि प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले भौतिक संरचना र स्वास्थ्य सहायता सामग्री भए पनि जनशक्ति कम भएर प्रसूति सेवा सञ्चालनमा हुने कठिनाई अब समाधान गर्ने पनि बताउनुभयो । कोइकाको सहयोगमा युएनडिपीले निर्माण गरेको स्वास्थ्य चौकीमा आवश्यकपर्ने स्वास्थ्य सहायता सामग्री गुड नेवर्स अन्तर्रा्ष्ट्रिय (जिएनआइ)ले उपलब्ध गराएको छ । ८० लाख रुपैँया बराबरको खर्चमा निर्माण गरिएको उक्त भवनमा बहिरङ, प्रसूति र गर्भजाँच सेवा तथा औषधि कक्ष, स्टोर र कर्मचारी निवाससहित सात कोठा रहेका छन् । वि.सं २०७२ वैशाख १२ मा गएको विनाशकारी भूकम्पले क्षति पुगेका संरचना पुनःनिर्माणमा कोरिया सरकारको सहयोग कार्यक्रम अन्तर्गत कोइकाले आठ दशमलव चार मिलियन अमेरिकी डलरमा यहाँको ५० श्यया क्षमताको जिल्ला अस्पताल त्रिशूली र दशवटा स्वास्थ्य संस्था पुन:निर्माणको जिम्मेवारी लिएको थियो । अब सात वटा स्वास्थ्य चौकीको पुनःनिर्माण जारी रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत पुर्न्निर्माण इकाइ प्रमुख रमेश अधिकारीले जानकारी दिनुभयो । भूकम्पबाट यहाँका ८० वटा स्वास्थ्य संस्था क्षतिग्रस्त भएका थिए ।