श्रोता समूहद्वारा वडाध्यक्ष र बजारबासीसंग फोहोर व्यवस्थापनका लागि छलफल

May 15, 2018

जेठ १ । दोलखाको शैलुङ गाउँपालिका वडा नम्बर ३ काटाकुटीमा गठित शैलुङ रेडियो श्रोता समूहका सदस्यहरुले वडाध्यक्ष र बजारबासीहरुसँग फोहोर व्यवस्थापन गर्न छलफल गरेका छन् । गाउँपालिकाको बाघखोर बजार पानी आएर हिलाम्मे हुन थालेपछि सवारी आवागमन ठप्प हुने र यहाँका आम नागरिकहरुलाई हिँडडुल गर्न समेत समस्या भएपछि श्रोता समूहका सहजकर्ता र सदस्यहरुले, वडा नम्बर ३ काटाकुटीका अध्यक्ष धुब्रकुमार श्रेष्ठ, बजार व्यवस्थापनका पदाधिकारी र बजारबासी राखेर छलफल गरेका हुन् ।

श्रोता समूहका सदस्यहरुले अब तत्काल बजार वरिपरि भएको फोहोर मैला व्यवस्थापन गर्ने र सडकमा भएको हिलो पन्छ्याउनको लागि गर्ने समेत तयारी गरेका छन् । वडा कार्यालय र रेडियो श्रोता समूहको संयुक्त आयोजनामा प्रत्येक पसल, होटल र अन्य व्यवसाय गरिरहेका व्यवसायी उद्योगीहरुसँग आर्थिक संकलन गरिने श्रोता समूहका सहजकर्ता लक्ष्मीडोल्मा तमाङले जानकारी दिनुभयो । हाल शैलुङ गाउँपालिका जाने सडक पानी पर्न थालेपछि हिलाम्मे हुने र गन्तव्यसम्म मानिसहरु पुग्न नसक्ने समस्या विकराल बन्दै गएको छ ।

यसैगरी श्रोता समूहका सदस्यहरुले शैलुङ गाउँपालिका वडा नम्बर ३ काटाकुटीमा गाउँसभालाई लक्षित गर्दै वडा स्तरको सल्लाह सुझाव संकलन गरेका छन् । सल्लाह सुझाव संकलन कार्यक्रममा शैलुङ गाउँपालिका वडा नम्बर ३ काटाकुटीका वडा अध्यक्ष धुव्रकुमार श्रेष्ठ, गाउँकार्यपालिका सदस्य पार्वती श्रेष्ठ, उद्योग बाणिज्य संघ मागादेउराली बाघखोर उपशाखाका सचिव कमल श्रेष्ठ,  रेडियो श्रोता समूहका सहजकर्ता लक्ष्मिडोल्मा तमाङको सहभागीता रहेको थियो । सुझाव संकलन कार्यमा आगामी असार महिनामा हुँने गाउँसभामा खानेपानी, सडक लगाएतका कार्यक्रम प्राथामिकतामा राख्दै बजेट विनियोजन गरी पारदर्शी हिसाबले काम गर्न स्थानीयले सुझाव दिएका थिए ।

२०७४ साल साउन २६ गते शैलुङ गाउँपालिका वडा नम्बर ३ काटाकुटीमा गठन भएको श्रोता समूहले ०७४ साल बैशाख ३१ गते स्थानीय तहको निर्वाचन सम्पन्न भई वडा तथा गाउँपालिकाको कार्यालयमा कर्मचारी जान थालेपछि वडा स्तरबाट र गाउँपालिकाबाट के कस्ता सेवा सुविधाहरु पाईन्छ, कुन सेवा पाउनको लागि जिल्ला जानुपर्छ जस्ता विषयमा वडा अध्यक्षसँग सुचना मागेका थिए भने लक्षित बर्गको लागि विनियोजन भएको बजेट कसरी खर्च भैरहेको छ भनेर समेत छलफल गरेका थिए । ३३ बर्ष देखि ६५ बर्ष उमेर समुहका युवा र ज्येष्ठ नागरिक महिला र पुरुष आवद्ध रेडियो श्रोता समूहका पदाधिकारी रेडियो कार्यक्रम साझाबोली नसुन्दा लक्षित बर्ग को हो? उनीहरुका लागि के कस्ता शिर्षकमा बजेट विनियोजन हुन्थ्यो, त्यसका लागि कहाँ जानुपर्छ जस्ता विषयमा अनविज्ञ रहेको र अहिले कार्यक्रम सुनेर छलफल गर्न थालेपछि आफ्नो बुझाई र व्यवहारमा परिवर्तन आएको समूहका पदाधिकारीहरुले बताएका छन् । उनीहरु आजभोली समुहको मिटिङ बस्दा अब के काम गर्ने, गाउँपालिका र वडा तह आम नागरिकप्रति सेवा प्रवाह गर्न जवाफदेहि पारदर्शी छन् या छैनन् भन्ने विषयको निगरानी समेत गरिरहेका छन् ।