घोडाघोडीको रिङरोडमा हातले उप्काउन सकिने कालोपत्रे

Jun 12, 2021

बिरेन्द्र शाह, कैलाली जेठ २८ – माथि देखाइएको तस्विर र भिडियो कैलालीको घोडाघोडी नगरपालिकाको गौरबको योजनाको हो । घोडाघोडीको वडा नम्बर १ मा रेखा निर्माण सेवाले सडक कालोपत्रे गरिरहेको छ । हातले कोट्याएर निकाल्न मिल्ने कालोपत्र देखाउँदै निर्माण सेवाले कमसल सामग्री प्रयोगको वताउँछन् । निर्माण कम्पनीले लापरबाही गरीरहेको स्थानीयको आरोप छ ।
रेखा निर्माण सेवाले घोडाघोडीको सडक कालोपत्रे गर्न थालेको दुई महिना हुन थाल्यो । पीच गरेको महिना दिन नपुग्दै सडकमा गिट्टी अर्थात जिराहरु देखा पर्न थालेका छन् । तत्काल काम रोकेर पुनः गुणस्तरीय सामाग्रीको प्रयोग गरी सडक पीच गर्नुपर्ने जनप्रतिनिधिको भनाई छ ।
सडकको सब बेस र बेसको काम राम्रो रहे पनि कालोपत्रे गर्दा माथिबाट प्रयोग हुने जिरा गिट्टी ४.७५ एमएमको प्रयोग गर्नुपर्नेमा त्यसो नगरी ठुलो गिट्टी प्रयोग गरेको हुँदा यस्तो समस्या आएको नगरपालिकाले जनाएको छ । त्यति मात्र नभएर सडकमा प्रयोग भएको बिटुमिन अर्थात् अलकत्राको गुणस्तर कमजोर हुन सक्ने स्थानीय व्यक्तिहरु वताउँछन् । नगरपालिकाले अलकत्राको गुणस्तर कमजोर भएको÷नभएकोबारे प्रमाणित गर्न परीक्षणका लागि ल्याबमा पठाएको छ ।
निर्माण कम्पनीले भने सडक मापदण्ड अनुसार नै बनाएको दाबी गरेको छ । काम गर्दा केही कमजोरी भएपनि बदमासी नभएको कम्पनीको दावी छ । करिब १७ किलोमिटर लम्बाइ रहेको रिङ्गरोडको पहिलो चरण अन्तर्गत ३.५६ किमी सडक कालोपत्रे गर्ने काम अहिले भइरहेको छ । सडक कालोपत्रे गर्नका लागि रेखा जेभी निर्माण सेवाले एक करोड ५८ लाख ६० हजार ९५८ मा ठेक्कामा लिएको छ । स्थानीय सरकार र राष्ट्रिय योजना आयोगको साझेदारीमा निर्माण भइरहेको रिङ्गरोड नगरपालिकाको महत्वपूर्ण योजनाका रूपमा छ । सुखडको भुखाली चोकबाट पीपलडाँडा, पूर्वी पेट्रोलपम्प हुँदै बेलार, लक्ष्मीपुर, घोडाघोडी, कौवा, ज्वाला नगर हुँदै भुखालीचोकसम्म करीब १७ किमी चक्रपथ निर्माण हुन लागेको हो ।