सामुदायिक विद्यालयमा गाउँपालिकाबाट शिक्षक

भगीरथ अवस्थी

असाेज १७, बैतडी

जिल्लाको सुर्नया गाउँपालिकाले सामुदायिक विद्यालयमा शिक्षक नियुक्त गरेको छ । नीजि श्रोत दरबन्दीमा रहेका शिक्षकहरुलाई गाउँपालिकाले तलब दिने गरि नियुक्त गरेको गाउँपालिकाका अध्यक्ष बीरबहादुर बिष्टले जानकारी दिनुभयाे ।

निजीश्रोतका शिक्षकलाई तलब दिन अभिभावकहरुले पैसा तिर्नुपर्ने बाध्यताको अन्त्य गर्नका लागि कार्यविधि बनाएर गाउँपालिकाले शिक्षक नियुक्त गरेको अध्यक्ष बिष्टले बताउनुभयाे । ‘शिक्षामाथि अभिभावकहरुको भार कम गर्नका लागि गाउँपालिकाले सुर्नया शिक्षक नियुक्त गरेको हो । हामीले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि पहल स्वरुप शिक्षक नियुक्त गरेका हौं ।’ अध्यक्ष विष्टले भन्नुभयाे । 

गाउँपालिकाभरी रहेका ३९ सामुदायिक विद्यालयमा कार्यरत ८० भन्दा बढी शिक्षक र कार्यालय सहयोगीहरुलाई नियुक्त गरिएको अध्यक्ष बिष्टले जानकारी दिनुभयाे । 'गाउँपालिकाको शिक्षा ऐन समेत पारित गरेका छौं । सोही ऐनका आधारमा कार्यविधि बनाएर सामुदायिक विद्यालयहरुमा शिक्षक नियुक्त गरेका छौं ।’ विष्टले भन्नुभयाे । 

गाउँपालिकाले कक्षा मावि तहमा कक्षा १२ सम्म पढाउने शिक्षकलाई २५ हजार, मावि तहमा कक्षा १० सम्म पढाउने शिक्षकलाई २० हजार, आधारभूत तहमा कक्षा ८ सम्म पढाउने शिक्षकलाई १५ हजार र आधारभूत तहमा कक्षा ५ सम्म पढाउने शिक्षकलाई मासिक १० हजारका दरले तलब दिएको अध्यक्ष बिष्ट बताउनुहुन्छ । यस्तै कार्यालय सहयोगीहरुलाई ८ हजारका दरले तलब दिने गरिएको उहाँले जानकारी दिनुभयाे ।

सामुदायिक विद्यालयमा आयश्रोत नभएका कारण निजीश्रोतका शिक्षकहरु आउने जाने गरेकोमा अब त्यस्तो समस्या नभएको केदार मावि कठमडाका प्राधनाध्यापक विरेन्द्रबहादुर चन्दले बताउनुभयाे । उहाँले भन्नुभयाे ‘विद्यालयले शिक्षक नियुक्त गर्ने समयमा तलब दिन नसक्दा बीचमै छोडेर जान्थे । गाउँपालिकाले शिक्षक नियुक्त गरेपछि अब त्यो समस्या रहेन् । यसले शैक्षिक गुणस्तरमा सुधार ल्याउने अपेक्षा गरिएको छ ।’
‘परीक्षाको समय आउने गथ्र्यो शिक्षकहरु तलब नपाएर पढाउनै छोडदिन्थे । गाउँपालिकाले शिक्षकको व्यवस्था गरेपछि विद्यालयमा नियमित रुपमा पढाई हुने गरेको छ ।’सिद्धनाथ आधारभूत विद्यालयका प्रधानाध्यापक गणेशदत्त अवस्थीले भन्नुभयाे, ‘शिक्षाको क्षेत्रमा स्थानीय सरकारले गरेको लगानि सराहनीय छ । यसले सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर सुधारमा सहयोग पुर्याउने छ ।’

गाउँपालिकाले सामुदायिक विद्यालयमा शिक्षकको व्यवस्थापन गरेकाले सामुदायिक विद्यालयका आधा समस्या समाधान हुने रौलेश्वर माविका शिक्षक नवराज मडैले बताउनुभयाे । सामुदायिक विद्यालयमा निजीश्रोेतका शिक्षक व्यवस्थापन चुनौतीको रुपमा थियो । गाउँपालिकाले बजेट विनियोजन गरेर शिक्षकको व्यवस्थापन गरेकाले विद्यालयका धेरै समस्या समाधान हुनेछन् । जसले गर्दा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा सुधार आउने छ ।’ मडैले भन्नुभयाे ।