सद्धलेक गाउँपालिकामा स्थानीय साझासभा बैठक सम्पन्न, गाउँपालिकामा नागरिकको आवश्यकताअनुसार काम नभएको स्थानीयको गुनासो ।

May 9, 2018

धादिङको सिद्धलेक गाउँपालिकाका भुकम्प प्रभावितहरुले घर निर्माण सम्पन्न भइसक्दा पनि सरकारको अनुदान रकम लिन ढिलाइ भएको गुनासो गरेकाछन् । इन्जिनियरहरु, भनेको समयमा गाउँमा नहुँदा र समयमै घरको सर्वेक्षण नहुँदा निर्माण सम्पन्न भइसकेको घरको दोस्रो र तेस्रो किस्ता लिन नसकेको बताएकाछन्। युएसएडको सहयोगमा एफएचआइ ३६० र डेक नेपालाको सहकार्यमा जिल्लामा संचालित पारस्परिक जवाफदेहिता परियोजना अन्तर्गत धादिङको सिद्धलेक गाउँपालिकामा मंगलबार बसेको साझासभा बैठकमा सहभागी स्थानीयहरुले यस्तो बताएका हुन् ।

बैठकमा सहभागीहरुले भुकम्पपछि घर निर्माणको लागि आवश्यक पर्ने निर्माण सामग्री अत्यन्त महङ्गो हुदै गएको, दक्ष कामदारको अभाव, कामदारलाई बढी ज्याला दिनुपर्ने, काठको समस्या, सरकारी र संघसंस्थाबाट खटाइएका इन्जिनियरको काम गर्ने शैली फरक हुदा प्रभावितले दुख भोग्नुपरेको बताएकाथिए । यस्तै स्थानीय सरकार आइसकेपछि स्वास्थ्यको क्षेत्रमा पनि सुधार हुन नसकेको स्थानीयहरुले गुनासो गरेकाछन् ।

सरकारले उपलब्ध गराउने नि:शुल्क औषधी स्वास्थ्यसंस्थामा नपाइदा सामान्य रोगका बिरामीले पनि सास्ती खेप्नुपरेकोले यसलाई गाउँपालिकाले छिटो व्यवस्थापन गर्न स्थानीयहरुले आग्रह गरेकाथिए । यस्तै अहिलेको युग भनेको विज्ञान र प्रविधिको युग भएकोले गाउँपालिकाले भित्रका विद्यालयहरुले समयअनुसारको प्राविधिक शिक्षामा जोड दिनुपर्ने बताएका थिए । गाउँपालिका लगायत विभिन्न संघसंस्थाको समन्वयमा विद्यालयमा संचालन हुने खाजा कार्यक्रम सोचेजति उपलब्धीमुलक नभएको भन्दै यसलाई व्यवस्थित बनाउन आग्रह गरेकाथिए । बैठकमा डेक नेपालका जिल्ला कार्यक्रम संयोजक शेरबहादुर भण्डारी, सिद्धलेक गाउपालिकाका अध्यक्ष प्रेमनाथ सिलवाल, उपाध्यक्ष लगायत स्थानीयहरुको सहभागिता रहेकोथियो । बैठकमा उठेका गुनासोहरुलाई सम्बोधन गर्दै गाउँपालिकाअध्यक्ष प्रेमनाथ सिलवालले गाउँपालिकाले शिक्षा स्वास्थ्यलगायत भुकम्प प्रभावितहरुको समस्या समाधान गर्न गाउँपालिकाले आवश्यकता अनुसारको निति बनाएर काम गर्ने बताउनुभएकोथियो ।