भुगोल सुहाउँदो शिक्षा नीति ल्याउनुपर्नेमा जोड


जगतदल जनाला विक

सुर्खेत, २८ पुष ।
कर्णाली प्रदेशमा भुगोल सुहाउँदो शिक्षा नीति ल्याउनुपर्नेमा शिक्षाको अधिकार र हाम्रो अवस्था विषयक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा माध्यामिक तहसम्मको शिक्षा स्थानीय निकायले हेर्ने भएपछि प्रदेश सरकारको भूमिकामा कमी भएको कर्णाली प्रदेश सभाकी सांसद पद्मा खड्काले बताइन् । प्रदेश स्तरमा निर्माण गरिने शिक्षा नीतिमा कर्णालीको समग्र अवस्थालाई ध्यानमा राखेर नीति बनाइने बताइन् । शिक्षाका लागि राष्ट्रिय अभियानका केन्द्रिय कोषाध्यक्ष टिकाराम आचार्यले गुणस्तरीय शिक्षाका लागि सरकारको लगानी, अनुगमन र मुल्याङ्कन गर्न जरुरी रहेको औंल्याए ।
स्थानीय तह भैसकेपछि शिक्षामा थुपै्रखाले समस्या रहेकोले यसलाई समाधान गर्न भुगोल सुहाउँदो शिक्षा नीति ल्याई कार्यान्वयन गर्नुपर्ने शिक्षक महासंघ सुर्खेतका अध्यक्ष कृष्ण बहादुर थापाले सुझाव दिए । सोमवार वीरेन्द्रनगरमा ईन्सेक कर्णाली प्रदेशको आयोजनामा गरिएको अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले यस्तो बताएका हुन । शिक्षक संघ सुर्खेतका अध्यक्ष गोविन्द केसीले धेरै स्थानीय तहहरुले शिक्षा सम्बन्धी नीतिहरु बनाउन नसकेको बताउँदै राज्य पुनसंरचना भईसकेपछि शिक्षा क्षेत्रलाई ठुलो समस्या परेको बताए । उनले माथिल्लो तहमा भन्दा पनि तल्लो तहमा बढी लगानी गनुपर्नेमा जोड दिए ।
प्रारम्भिक बाल विकास तथा शिक्षा, आधारभूत शिक्षा, अभिभावक शिक्षा, अनौपचारिक शिक्षा, खुला तथा वैकल्पिक निरन्तर सिकाइ, सामुदायिक सिकाइ र विशेष शिक्षासम्बन्धी नीति, कानुन, मापदण्ड, योजना तर्जुमा, कार्यान्वयन, अनुगमन, मूल्यांकन र नियमन, सामुदायिक, संस्थागत, गुठी र सहकारी विद्यालय स्थापना, अनुमति, सञ्चालन, व्यवस्थापन, नियमन, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमको योजना तर्जुमा, सञ्चालन, अनुमति, अनुगमन, मूल्यांकन र नियमन, गाभिएका वा बन्द गरिएका विद्यालयहरूको सम्पत्ति व्यवस्थापन, गाउँ तथा नगर शिक्षा समिति गठन तथा व्यवस्थापन, विद्यालय व्यवस्थापन समिति गठन तथा व्यवस्थापन, विद्यालयको नामाकरण, सामुदायिक विद्यालयको जग्गाको स्वामित्व, सम्पत्तिको अभिलेख, संरक्षण र व्यवस्थापन, विद्यालयको गुणस्तर अभिवृद्धि तथा पाठ्यसामग्रीको वितरण लगायतका काम स्थानीय सरकारको अधिकारमा भएपनि प्रभावकारी रुपमा काम गर्न नसकेको शिक्षा संग सरोकार राख्ने सहभागीहरुले बताएका छन् ।
। शिक्षामा हुने राजनीतिको अन्त्य हुनपर्ने र गुणस्तरीय शिक्षाका लागि शिक्षक नै पहिला सक्षम बन्नुपर्ने मध्यपश्चिम विश्वविद्यालयमा अध्यनरत भरत गौतमले बताए । मदरसा विद्यालयलाई पनि सरकारले अन्य विद्यालय सरह सेवासुबिधा दिनुपर्नेमा वीरेन्द्रनगर–८ की समीना बानुले जोड दिइन् । #education