घरदैलाेमै स्वास्थ्य सेवा नारामै सिमित

Feb 7, 2019

ज्योति श्रेष्ठ/काभ्रे

संघीयताको अभ्यासको प्रारम्भसँगै केन्द्रदेखि तल्लो निकायलाई सबल र सक्षम बनाउँदै अत्यावश्यक सेवा पुर्याउनुपर्नेमा बहस हुन थालेको छ ।

देशभर अहिले पनि ३८ सय स्वास्थ्य चौकी छन् । तर सरकारद्वारा सञ्चालित जिल्ला, क्षेत्रीय, अञ्चलस्तरीय र केन्द्रीय अस्पतालकै व्यववस्थापन उचित ढंगले गर्न नभएको अवस्थामा स्वास्थ्यचौकीको अवस्था झनै जर्जर छ । हिमाल–पहाडका गाउँ र तराईका देहातमा अकस्मात् आइपर्ने दुर्घटनाको आकस्मिक उपचार गर्न स्वास्थ्यचौकीहरू सक्दैनन् ।

कतिपय जिल्ला र अञ्चल अस्पतालमा पर्याप्त जनशक्ति र प्रविधि छैन । व्यवस्थापन नै चुनौती बनेको छ । त्यसो हुँदा सहज पहुँचको कारण मात्रै सामान्य ज्वरो र रुघाखोकीमा स्वास्थ्यचौकी आसपासका स्थानीय व्यक्तिहरू स्वास्थ्यचौकी धाउँछन् । सर्पले टोक्दा, हृदयघात हुँदा र रूखबाट लठेर या गाडी र अन्य खालका आकस्मिक दुर्घटना हुँदा त्यसलाई तत्काल उपचार गर्न सक्ने अवस्थामा प्रायः कुनै पनि स्वास्थ्य र उपस्वास्थ्य चौकी छैनन् ।

काभ्रेमा रहेका १३ वटा स्थानीय तहमध्ये अधिकांशको स्वास्थ्य क्षेत्रको अवस्था उस्तै नै छ । केही स्थानीय तहले भने स्वास्थ्य क्षेत्रमा उल्लेखनीय काम गरेको स्थानीय बताउँछन् । काभ्रेको रोशी गाउँपालिका वडा नं ७ कटुञ्जेवेशीकी शान्ताकुमारी अधिकारी पहिले सामान्य उपचारको लागि पनि बनेपा र धुलिखेल धाउने गर्नुहुन्थ्यो । तर अहिले आफ्नै घर छेउमै रहेको स्वास्थ्य चौकीबाट स्वास्थ्यसम्बन्धी सबै सेवा उपलब्ध हुने भएपछि शान्तालाई निकै सहज भएको छ ।

गाउँमै रहेको स्वास्थ्य चौकीबाट पहिले र अहिले पाईने सेवा सुविधामा आकाश पातलको फरक भएको उहाँलाई महशुस भएको छ । उहाँले भन्नुभयो, ‘ २ वर्ष यता स्वास्थ्य चौकीबाटै निःशुल्क औषधि पाएका छौँ । हातखुट्टा भाचिँदा पनि यहीँ उपचार हुने भएपछि समयमा नै उपचार हुने खर्च पनि का लाग्ने हुदाँ स्वास्थ्य चौकीबाट पाईने सेवा सुिवधाप्रति निकै सन्तुष्ट छौँ ।’

रोशीकी शान्ताकुमारी अधिकारीले स्वास्थ्यसम्बन्धी सेवा सुविधा आफ्नै वडाबाट पाईरहेको बताई रहदा धुलिखेल नगरपालिका वडा नं ४ बिदुर तोलाङ्गे भने आफ्नोे स्थानीय तहबाट अहिलेसम्म स्वास्थ्य लाभ नलिएको बताउँनुहुन्छ । आफ्नो वडाबाट स्वास्थ्यसम्बन्धी विशेष सेवा सुविधा नभएकाले सामान्य उपचार र औषधिका लागि आफू मेडिकल र अस्पताल नै जाने गरेको कुरा उहाँले सुनाउनुभयो । उहाँले भन्नुभयो, ‘गाउँ गाउँमा सिंहदरबार भनेको त धेरै सुनियो तर सामान्य भन्दा सामान्य उपचारको लागि पनि शहर नै धाउँनुपपर्ने अवस्था छ ।’

धुलिखेल नगरपालिकाकै वडा नं ७ का मोहन गजुरेल भने स्थानीय सरकार आएसँगै स्वास्थ्य सेवामा सहज भएको बताउँनुहुन्छ । आफ्नो स्थानीय तहले तल्लो स्तरबाटै स्वास्थ्यसम्बन्धी सेवा सुविधा द्रुत गतिमा भईरहेको र नगरले वडा वडामा स्वास्थ्यसम्बन्धी क्रियाकलाप समय समयमा गराईरहेको गजुरेलले बताउँनुभयो ।

धुलिखेल नगरपालिकाकै केही वडाका केही स्थानीयले स्वास्थ्य सेवा पाएको र केहीले नपाएको कुरा बताई रहँदा धुलिखेल नगरपालिकाका स्वास्थ्य शाखा संयोजक संदिप केसी भने धुुलिखेल नगरपालिकाले बनाएको कार्यविधिको आधारमा आधारभूत स्वास्थ्य सुविधाका साथै जेष्ठ नागरिकको लागि घरदैलो स्वास्थ्य सेवा नगरका सबै वडामा उपलब्ध गराईरहेको बताउँनुहुन्छ । उहाँका अनुसार नेपालको संविधानको धारा ३५ मा उल्लेखित अधिकारका आधारमा नगरपालिकाले स्वास्थ्य सेवा सहज तरिकाले उपलब्ध गराईरहेको छ ।

आफ्नो स्थानीय तहले नागरिकलाई दिएको स्वास्थ्य सेवा सुुविधा बारे केसी यस्तो बताउँनुहुन्छ, ‘नगरपालिकाबाटै आधारभूत स्वास्थ्य सेवा विभिन्न स्वास्थ्य संस्थाबाट प्रवाह भई रहेको, घुम्ति शिविर, विभिन्न स्वास्थ्य क्याम्पलगायत जनताको घरदैलौमै स्वास्थ्य सेवा प्रवाहकारी बनाउन स्वास्थ्यकर्मीको परिचालन गरिएको छ ।’

रोशी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्णप्रसाद बस्यालका अनुसार गाउँपालिकाले स्थानीयको स्वास्थ्य सेवाको लागि विभिन्न कार्यक्रम गर्दै आएको छ । गाउँपालिकाले आफ्नो स्थानीय तहमा स्वास्थ्यमा नागरिकलाई सहज तरिकाले पहुँच पुर्याउनको लागि सुत्केरी महिलाको लागि भत्ताको व्यवस्था, वार्षिक बजेट अनुसार जेष्ठ नागरिक स्वास्थ्य शिविर, आर्युवेदिक उपचार केन्द्र, आर्युवेदिक शिविर सञ्चालन गर्नुकासाथै गाउँपालिकाका स्वास्थ्य चौकी र सामुदायिक स्वास्थ्य केन्द्रबाट स्वास्थ्यका नियमित कार्यक्रम भईहरको प्रमुख प्रशासकीय अधिकृत बस्यालको जानकारी छ । गत वर्ष पनि वार्षिक कार्ययोजना अनुसार स्वास्थ्य क्षेत्रमा जेष्ठ नागरिकको स्वास्थ्यलाई गाउँपालिकाले विशेष प्राथमिकता दिएको बस्याल बताउँनुहुन्छ ।

स्वास्थ्य परीक्षण सहज गराउनको लागि आमसंञ्चार माध्यमको निकै महत्वपूर्ण भूमिका हुने रेडियो नमोबुद्धका सञ्चारकर्मी शिव पन्त बताउँनुहुन्छ । उहाँले भन्नुभयो,‘हाम्रो समाजमा नियमित स्वास्थ्य परीक्षण गर्ने प्रचलन नभएको र सूचनाको अभावमा थुप्रै सर्वसाधरणले स्वास्थ्य परीक्षणलाई बेवास्ता गरिरहेको अवस्थामा सूचना प्रवाहमा सञ्चार माध्यमले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने देखिन्छ।’ त्यसको लागि रेडियो उपयुक्त र प्रभावकारी माध्यम रहने उहाँले विचार राख्नुभयो । स्वास्थ्यसम्बन्धी कार्यक्रम गर्ने निकायहरुले सञ्चारमाध्यमसँग बढि सम्पर्क राख्न सकेमा कार्यक्रम निकै प्रभावारी हुने उहाँले बताउँनुयो ।

संविधानले नै नागरिक स्वास्थ्यलाई मौलिक हकका रूपमा व्याख्या गरिसकेको र साविकका गाविसमा ग्रामीण स्वास्थ्य कार्यकर्ता र अन्य स्वास्थ्यकर्मीको दरबन्दी रहँदारहँदै एउटा जिम्मेवार राज्यले सामान्य औषधोपचारको व्यवस्था गर्न नसक्नु लाजमर्दो हो । तर सरकारी स्वास्थ्य निकायप्रति सर्वसाधारणको विश्वासको संकट अर्को समस्या हो । निर्वा्चित स्थानीय निकायका प्रतिनिधिले सरकारी अस्पताल भन्ने बित्तिकै सर्वसाधारणले भर नगर्ने अवस्था अन्त्य गर्न गम्भीर पहल गर्नुपर्छ ।

औषधि र प्रविधिलाई स्थानीय स्वास्थ्य संस्थामा सहज रूपमा उपलब्ध गराउन स्थानीय तहले पहल गर्नु उत्तिकै आवश्यक छ । निजी अस्पतालहरू पनि प्रायः सहरबजारमा केन्द्रित भएको अवस्थामा गाउँपालिका तथा नगरपालिकाकाबीचमा र पायक पर्ने मुख्य स्थानहरूमा निजी अस्पताल स्थापनाका लागि लगानीकर्तालाई आकर्षित गर्नु आवश्यक देखिन्छ ।