कालिकाका ४३ घर पहिरोको उच्च जोखिममा

Aug 8, 2018

कमला पाख्रिन
श्रावण २३, सिन्धुपाल्चोक

मंगलबार रातीदेखि भएकाे अविरल बर्षाका कारण सुनकोशी गाँउपालिका ३, कालिकामा ४३ घर पहिरोको उच्च जोखिममा परेका छन् ।

पहिरोले कलबारी आलेका १२, चिनीखर्कका ५, आवालेका ५, जगनाथ टोलका ७ घर जोखिममा परेका छन् । यस्तै अविरल वर्षाकै कारण  पुरानचोकका ८, उखुबारीका  ६  घर पनि पहिरोकाे जोखिममा परेको जिल्ला समन्वय समितिका शाखा अधिकृत समेत रहनुभएका स्थानिय युगबहादुर खड्काले जानकारी भयो ।  

भिरखर्कको खहरे खोलाले बगाएर ल्याएको पहिरोको लेदोले कालिकाका स्थानियका ११ रोपनि खेतको धान पूर्ण रुपमा नष्ट भएको खड्काले जानकारी दिनुभयाे । पहिरोको जोखिम बढेपछि कालिकाका स्थानिय खालि ठाँउमा गएर बसिरहेका छन् । राहत तथा उद्धारका लागि सम्बन्धित वडामा पहल गर्ने सुनकोशी  गाउँपालिका ३ को वडा कार्यालयले जनाएको छ ।  

त्यस्तै सुनकोशि गाँउपालिका ६ थुम्पाखरमा जमिन भासिएपछि सुन्दरडाँडाका १२ र १२ किलोको १५ घर जोखिममा परेको छ । स्थानिय रुपकाजी तामाङका अनुसार नयाँ बनेका घरहरु, डिपिसि गरेका घर भासिएका र चकिएका छन् । गाँउपालिकाले तत्काल सुरक्षाका लागि बस्तीको  निरीक्षण गरेर ४५ घरपरीवारलाई त्रिपाल र प्लाष्टिक राहत स्वरुप वितरण गरेको गाँउपालिकाले जनाएको छ । अहिले पालिकाको टोलि कालिका, यमुनाडाँडा र सुनखानीका जोखिममा परेका बस्तीको निरीक्षणमा गएको छ ।