विद्यालयमा कम्प्युटर छ,विद्यार्थी चलाउन पाउदैनन्

Feb 6, 2020

माघ २३ सुखड,

कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ९ को शिखरझालामा रहेको कालिका माध्यामिक विद्यालयमा कक्षा ६, ७ र ८ मा कम्प्युटर बिषयको पढाई हुन्छ । विद्यालयले हाल १४ वटा कम्प्युटर खरिद गरी कम्प्युटर प्रयोगशाला समेत निर्माण गरेको छ । कम्प्युटर बिषय अध्ययन गर्ने विद्यार्थीहरुले प्रयोगशालामा बसेर कम्प्युटर हेर्छन र छुन्छन पनि तर प्रयोग भने गर्न पाउदैनन् । विद्यालयकी छात्रा समिना बिश्वकर्माले भनिन् “हामीले कम्प्युटरको बनावट देखेका छौ, सप्टवेयरका बारेमा कितावमा पढेका पनि छौ तर भित्री कम्प्युटर प्रणालीलाई भने प्रयोग गर्न पाएका छौनौ ।” कम्प्यटर बिषयको पिरियड भरी कम्प्युटरको अगाडी बसेर सैद्धान्तिक कुरा पढ्न र सुन्न बाहेक अरु काम नहुने गरेको विद्यार्थीहरु बताउछन । 

वडामा विघुत लाईन बिस्तार नहुँदा यस्तो समस्या आएको हो । विघुत नहुँदा विद्यालयमा भएका कम्प्युटरहरु प्रयोग नगरी कितावबाटै सैद्धान्तिक शिक्षा दिनु पर्ने बाध्यता भएको कम्प्युटर बिषयका शिक्षक कलक बहादुर रावल बताउछन् । उसो त विद्यालयले कम्प्युटर संचालनकै लागि सोलार समेत जडान गरेको छ ।सोलारले सबै कम्प्युटरलाई धान्न नसक्ने भएका कारण २० जनाको समुह बनाई दुईवटा कम्प्युटर मार्फत अध्यापन गराउनु पर्ने बाध्यता रहेको छ । नेपाल सरकारले कक्षा ६, ७ र ८ मा कम्प्युटर बिषयलाई अनिवार्य बनाएकाले आफुहरुले खर्च गरेर सोलार जडान गरेको भएपनि पर्याप्त नभएको विद्यालयका प्रधानाध्यापक हर्क बहादुर बुढा बताउछन । विघुत अभावले विद्यार्थीहरुको भविष्य नै अन्यौलमा परेको भन्दै उनले चिन्ता ब्यक्त गरे ।

यस क्षेत्रमा विघुत बिस्तारको जिम्मा पाएको घोडाघोडी ग्रामिण विघुत सहकारी संस्थाले समयमै लाईन बिस्तार गर्न नसक्दा समस्या थप जटील बनेको हो ।विघुतका लागि स्थानीयबाट रकम संकलन गरेको बर्षौ सम्म पनि विघुत बिस्तार नगरेको भन्दै बेला बखत स्थानीयहरु आन्दोलित समेत हुने गरेका छन । स्थानीय सरकार तथा विघुत सहकारीले जनताका समस्यालाई बेवास्ता गरेको भन्दै गुनासो समेत बढ्ने गरेको छ । यता सहकारीका अध्यक्ष भिम बहादुर बडुवाल भने यही माघ २५ गते भित्र वडा नम्बर ९ मा विघुत बाल्ने दाबि गर्छन । उनले पहिलो चरणमा विघुत नभएका वडा नम्बर ४, ५ र ७ मा विघुत बालिसकेको र अव वडा नम्बर ९ मा विघुत बाल्ने काम शुरु भएको जानकारी दिए ।