डडेल्धुराको नवदुर्गा न्यायिक समिति जिल्लाकै उत्कृष्ट चयन

डडेल्धुरा: 

डडेल्धुराका ७ स्थानीय तहमध्ये नवदुर्गा गाउँपालिकाको न्यायिक समिति उत्कृष्ट चयन भएको छ।स्थानीय स्तरमा हुने सामान्य झै–झगडाहरु, घरेलु हिंसा, योजना विवाद, ज्याला मजदुरी नपाइएको गुनासो, जातिय विभेद जस्ता द्वन्द स्थानीय न्यायिक समितिमार्फत समाधान गरेको भन्दै अन्तर्राष्ट्रिय संस्था यूएनडिपीले उत्कृष्ट चयन गरेको हो।

उत्कृष्ट भएको भन्दै यूएनडिपीले समितिलाई आवश्यक फर्निचर तथा सूचना प्रविधि सम्बन्धि भौतिक सहयोग गरेको छ।

स्थानीय न्यायिक समितिले विभिन्न उजुरीहरुलाई मेलमिलापको माध्यमबाट समाधान गर्ने प्रक्रिया र सफलतालाई मूल्यांकन गरी यूएनडिपीले कार्यालयलाई सामग्री सहयोग गरेको नवदुर्गा गाउँपालिकाकी उपाध्यक्ष डम्बरी ओलीले बताइन।
नेपालको संविधान २०७२ को धारा २१७ अन्तगत ‘क’ बमोजिम स्थानीय तह भित्रका विविध विवादहरु निरुपण गर्न सर्वसाधारणका समस्याहरुलाई समाधान गरिएको उनले बताइन।

‘करिब ३ दशक देखिको सामाजिक यात्राले मलाई समाजका विविध समस्याहरुलाई अध्ययन र विश्लेषण गर्ने अनुभव प्रदान गरेको छ’ उनले भनीन, ‘सोही प्राप्त अनुभवले संवैधानिक अवसर तथा जिम्मेवारी पुरा गर्न सहज भएको छ।’

नवदुर्गा गाउँपालिकाको न्यायिक समितिमा हालसम्म घरेलु हिंसा सम्बन्धी ९ सहित २९ उजुुरी परेका छन्। ती मध्ये २५ उजुरी फच्र्यौट भइसकेको र ४ प्रक्रियामा रहेको न्यायिक समिति संयोजक ओलीले बताइन।