विपद् न्यूनिकरणका डडेल्धुरा बनायाे कार्ययाेजना

ममता भट्ट,

कार्तिक १८, डडेल्धुरा

जिल्लामा विपद् न्यूनिकरण र समाधानका लागि जिल्ला विपद् व्यवस्थापन समिति डडेल्धुराले कार्ययोजना निर्माण गरेकाे छ । जिल्ला प्रशासन कार्यालय डडेल्धुरामा आइतबार बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले विपदको न्युनिकरण र विपद आईहालेमा छिटो भन्दा छिटो समाधानका लागि कार्ययोजना बनाएको हो ।

प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपद व्यवस्थापन समिति डडेल्धुराका अध्यक्ष मोहनराज जोशीको अध्यक्षतामा बसेको समितिको बैठकले जिल्लामा सक्रिय बिभिन्न संयन्त्रका साथै ७ वटै स्थानीय तहमार्फत विपद् व्यवस्थापनका कार्य सञ्चालन गर्ने निर्णय समेत गरेको छ ।

विपद् पुर्व तयारीका लागि स्थानीय तहसंग समन्वय भईरहेको बताउँदै ३ वटै सुरक्षा निकाय र अन्य सरकारी तथा गैरसरकारी निकायलाई समेत तयारी अवस्था राख्ने निर्णय गरिएको समितिका अध्यक्ष जोशीले बताउनुभयाे ।

हिँउदको समयमा डडेल्धुरा जिल्ला हिमपात र हुस्सुले प्रभावित हुने भएकाले सडक दुर्घटना न्युनिकरणका लागि ट्राफिक प्रहरीलाई समेत सक्रिय पार्ने बताइएको छ । यस्तै बैठकमा गरिएको निर्णय अनुसार जिल्लास्थित बिभिन्न सञ्चार माध्यम संगसंगै विद्यालय तहमा समेत विद्यार्थीहरुमाँझ जनचेतनाका कार्यक्रमहरु सञ्चालन गरिने छन ।

विपद् जोखिमको दृष्टिकोणले जिल्लाका विभिन्न स्थानलाई कलष्टरमा विभाजन गरिएको र सोही अनुसार कार्य भईरहेको समेत जाेशीले जानकारी गराउनु भएको छ ।

बैठकमा उपस्थित अन्य सरोकारवालाहरुले बिपद आउने समय अगावै प्रर्याप्त गृहकार्य गरेमा प्राकृतिक प्रकोपबाट हुने क्षति न्युनिकरण गर्न सकिने बताउनु भएको छ । विपद पश्चात उद्धारका लागि बेला–बेलामा सुरक्षाकर्मी तथा उद्धारकर्ताहरुले पुर्वाभ्यास समेत गर्ने गरेका छन ।