डडेल्धुराका अधिकांश मेडिकलहरु अवैध रुपमा सञ्चालन, नियमनकारी निकाय मौन

डडेल्धुरा जिल्लाका अधिकांश निजी मेडिकलहरु अवैध रुपमा सञ्चालन भईरहेको जनगुनासो बढेको छ । पछिल्लो समयमा जिल्ला सदरमुकाम लगायत अन्य ग्रामिण क्षेत्रका मेडिकलहरु लामो समयदेखि मापदण्ड बिपरित सञ्चालन हुँदै आएको जनगुनासो बढेको हो । नियमित अनुगमन हुन नसक्दा ठूला क्लिनिक र अस्पतालले पनि सरकारले तोकेको मापदण्ड पूर्णरुपमा पालना नगरेको सरोकारवालाहरुको भनाई छ । बिशेष गरेर जिल्लाका औषधी पसल सञ्चालकहरुले अर्काको इजाजतबाट मेडिकल चलाइरहनुका साथै ओरेन्टेशन नलिइकनै अहेवहरुले मेडिकल सञ्चालन गरेको पाइएको छ ।
चिकित्सकको अनुमतिबिना कडा खालका एन्टिबायोटिक औषधि बिक्री गर्न नमिल्ने भएपनि जिल्लाका मेडिकल सञ्चालक अहेवहरुले आफैं बिरामी चेक गर्ने र मनोमानी तरिकाले औषधि दिने गरेका छन । जसले गर्दा निजी मेडिकलहरुले सुरुमै चलाउने हाई डोजको औषधिका कारण मानव स्वास्थ्यमा प्रत्यक्ष नकारात्मक असर पार्ने गरेको चिकित्सकहरुले बताएका छन । यसका साथै अवैध औषधी समेत खुलेयाम बिक्रीबितरण गर्ने गरेको समेत पाइएको छ । तर जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराका प्रमुख बरिष्ठ जनस्वास्थ्य प्रशासन बृष बहादुर शाहीले आफुहरुले बेला–बेलामा अनुगमन गरिरहेको बताउनुभएको छ । अनुगमनका क्रममा शुरुमा सचेत मात्रै गर्ने गरेको तर एक्सन नै लिनुपर्ने अवस्था भने नआएको उल्लेख गरेका छन ।
स्वास्थ्य मन्त्रालयको मापदण्ड अनुसार जिल्ला स्वास्थ्य कार्यालयबाट अनुमति लिएका क्लिनिक, पोलिक्लिनिक र अस्पताललाई मात्रै आधिकारिक मान्न सकिने जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराले जनाएको छ । डडेल्धुरा जिल्लामा अहिले एलोपेथिक तर्फका क्लिनिकहरुको संख्या ३० भन्दा माथि रहेको र मेडिकलहरु औषधी व्यवस्था विभागबाट स्वीकृति लिने भएकाले सोको बारेमा भने स्वास्थ्य कार्यालयलाई जानकारी नहुने बताएका छन ।
क्लिनिक अथवा मेडिकलमा बस्ने व्यक्तिले फार्मेसी पढेको अथवा ओरिन्टेशन लिएको हुनुपर्ने बताइएको छ । सरकारी स्वास्थ्य संस्थाको औषधि र निजी मेडिकलको औषधिको गुणस्तरमा खासै फरक नपर्ने भएपनि निजी मेडिकलले सुरुमै हाई डोजको औषधी चलाउँदा तत्काल प्रभाव देखिनाले सेवाग्राही मेडिकल धाउन बाध्य हुने गरेको चिकित्सकहरुको भनाई छ । औषधी ब्यवस्था विभाग अन्तर्गतका अनुगमन गर्ने निकायहरुले यसका लागि पहल नचाल्दा उपभोक्ताहरु प्रत्यक्ष मारमा परेका छन ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र डडेल्धुराका प्रमुख आयुर्वेद चिकित्सक डा. गम्भिर झाका अनुसार स्वास्थ्य निर्देशनालयद्धारा तोकिए जति मापदण्ड आयुर्वेद औषधालयहरुले निर्धारण नगरेको पाइएको छ । आफुहरुले बेला–बेलामा अनुगमन गर्ने गरेको भएपनि मेडिकलहरुले खासै मापदण्ड अनुसार सञ्चालन नगरेको पाइएको आयुर्वेद चिकित्सक डा. झा को भनाई छ । आयुर्वेदीक मेडिकलमा एलोपेथिक र एलोपेथिक मेडिकलमा आयुर्वेद औषधि समेत राख्ने गरेको उनको भनाई छ । डडेल्धुरा जिल्लामा अहिले २ वटा मात्रै आयुर्वेदिक औषधालयहरु सञ्चालनमा रहेका छन ।
अमरगढी नगर क्षेत्रमै सञ्चालित औषधि पसल र क्लिनिक मापदण्डविपरीत रहेको भेटिए पनि सम्बन्धित निकाय भने मौन बसेको छ । जसका कारण सम्बन्धित निकाय माथि नै प्रश्न चिन्ह उठ्न थालेको छ । नियमित अनुगमन र कारबाहीको अभावमा औषधि व्यवसायी तथा निजी स्वास्थ्य सेवा प्रदायकहरू नियन्त्रणबाहिर गएका हुन । हरेक वर्ष नियमित अनुमतिपत्र नवीकरण गर्नुपर्ने मापदण्ड उनीहरूले पालना गरेका छैनन भने वर्षौ नियम मिच्दासमेत सरोकारवाला सरकारी निकाय बेखबर छन भने स्थानिय नागरिक समाज संस्थाहरुले समेत यस बारेमा खासै आवाज उठाएको पाँईदैन ।

सामुदायिक संञ्चारकर्मी माधवी भट्टबाट

Member Comment
Laxmi shrestha
This is called an oversight ! Great Mamta jee !!
8 months ago