पुर्चौंडी नगरपालिकाद्धारा किसानहरुलाई पोली हाउस वितरण

Nov 18, 2020


जयराज अवस्थी/बैतडी,मंसिर ३
बैतडीको पुर्चौंडी नगरपालिकाले किसानहरुलाई पोली हाउस वितरण गर्न थालेको छ । तरकारी खेतीमा लागेका किसानहरुलाई सहयोग गर्ने उद्देश्यले पोली हाउस वितरण गर्न थालेको नगर उपप्रमुख जानकी ऐर बमले जानकारी दिनुभयो । ७५ प्रतिशत अनुदानमा किसानहरुलाई पोली हाउस वितरण गरिएको उहाँले बताउनुभयो ।


किसानहरुको मागमा आधारित रहेर नगरपालिकाका १० ओटै वडाका १५६ जना किसानलाई पोली हाउस वितरण गर्ने कार्य शुरु गरिएको उपप्रमुख बमले जानकारी दिनुभयो । व्यवसायिक तरकारी खेतीमा लागेका किसानहरुलाई सहयोग गर्नका लागि नगरपालिकाले २३ लाखको लागतमा पोली हाउस खरीद गरि किसानहरुलाई वितरण गरेको हो । पोली हाउससंगै किसानहरुलाई एकदिने प्राविधिक तालिम समेत दिने गरिएको बताइएको छ ।
किसानहरुलाई व्यवसायिक तरकारी खेतीमा आकर्षित गर्नका लागि पोली हाउस वितरण कार्य गरिएको नगरपालिकाले जनाएको छ । गत आर्थिक बर्षको ३ लाख र चालु आर्थिक बर्षको २० लाख गरेर सो कार्यक्रमका लागि २३ लाख बजेट विनियोजन गरिएको उपप्रमुख बमले जानकारी दिनुभयो ।
दुई दुई वडाका किसानहरुलाई एकदिन बोलाएर तालिम सहित पोली हाउस वितरणको काम शुरु भएको उहाँले बताउनुभयो । नगरपालिकाले पोली हाउस वितरणपछि व्यवसायिक तरकारी खेतीमा लागेका किसानहरुलाई सजिलो हुने विश्वास गरिएको छ ।