सेवा लिन सहज बनाउँदै नेपालगन्ज उपमहानगरपालिकाकाे सहायता कक्ष

Jan 8, 2019

रजनी योगी
पाैष २४, बाँके

नेपालगंज उप महानगरपालिकामा नागरिक सहायता कक्ष संचालन भएको छ । नागरिक सहायता कक्ष संचालन भएदेखि सेवाग्राहीहरुलाई नगरपालिकाले प्रदान गर्ने सेवाहरू लिन सजिलो भएको छ ।

विशेषागरी पहिलो पटक नगरपालिका आउनेहरुका लागि नागरिक सहायता कक्ष अझ बढि प्रभावकारी भएको छ । अहिले सेवाग्राहीले विशेषगरी शिक्षा शाखा, राजश्व शाखा, व्यवसायी दर्ता, फारम भर्ने बुझाउने ठाउँको बारेमा जानकारी लिईरहेका छन् ।

सहायता कक्ष नहुँदा अन्यौलमा पर्ने, यता उता डुल्ने हुन्थ्यो भने अहिले त्यो अन्यौलता हटेको छ । सहायता कक्ष भएदेखि आफुले खोजेको ठाउँ र व्यक्ति सजिलै भेट्न सकिएको र धेरै सजिलो भएको सेवाग्राही रुपा चाैधरीले बताउनुभयाे ।

उपमहानगरपालिकामा टोल फ्रि नम्बर बाट फोन गरेर पनि गुनासाहरु टिपाउने गर्दछन । टोल फ्रि नम्बर बाट जनताका समस्या साथै नगरपालिकामा जांदा कर्मचारी नभेटिने जस्ता गुनासाहरु आउने गरेका छन् । आएको गुनासो टिपोट गरि गुनासो शाखासम्म पुर्याउने काम सहायता कक्षका सहजकर्ताहरु गर्दछन् । यती मात्र नभई सिफारिस चिठि पनि लेखेर सहयोग गरेको सहजकर्ता सिन्धु चौधरी बताउनुहुन्छ ।

उपमहानगरपालिकाले बाससँगकाे सहकार्यमा २०७५ पुस ३ गतेदेखि नागरिक सहायता कक्ष संचालनमा ल्याएकाे हाे । त्यसयता दैनिक ४० देखि ६० जनाले सहायता कक्षबाट सेवा लिने गरेको पनि सहजकर्ता चौधरीले जानकारी दिनुभयाे ।