दैलेखमा फरक क्षमताका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

Nov 21, 2019

रजनी याेगी दैलेख
जिल्लाको नारायण नगरपालिका–६ भुर्ती स्थित रेडक्रस माविका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ । अन्तराष्ट्रिय बाल दिवसको अबसरमा विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको हो । ‘सुनिश्चित बाल अधिकार ःसमृद्ध नेपालको आधार’ भन्ने मुल नाराका साथ आयोजित कार्यक्रममा रेडक्रस माविमा सञ्चालित सुस्त श्रवण तथा बहिरा स्रोत कक्षा–केन्द्रका १९ जना विद्यार्थीहरूलाई कापी, कलम तथा खेलकुदका सामग्री वितरण गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय, प्रहरी कार्यालय, सामाजिक सेवा केन्द्र सोसेक नेपाल, शिक्षाका लागि राष्ट्रिय अभियान, सुन्दर नेपाल संस्था लगाएतको समन्वय तथा नारायण नगरपालिकाको आयोजनामा फरक क्षमता भएका बालबालिकालाई शैक्षिक र खेलकुदका सामग्री वितरण गरिएको हो । शैक्षिक सामग्री वितरणका अबसरमा नारायण नगरपालिकाका प्रमुख रत्नबहादुर खड्काले बाल अधिकारका लागि बनेका कानुनको प्रभावकारी कार्यान्वयनमा स्थानीय सरकार गम्भिर बनेको बताए । सहायक प्रमुख जिल्ला अधिकारी इन्द्रबहादुर क्षेत्रीले बालबालिका भविष्यका कर्णधार भएको बताउँदै उनिहरुको सुन्दर भविष्य निर्माणमा अभिभावक, समाज सरकार लगाएत सबैको महत्वपूर्ण भूमिका रहने बताए ।

नारायण नगरपालिका–६ का वडाध्यक्ष प्रकाश न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला स्थित सरकारी तथा गैरसरकार निकायका प्रमुख प्रतिनीधि, विद्यालयका शिक्षक विद्यार्थीको सहभागिता रहेको थियो ।