डडेल्धुरामा मुक्त हलियाकाको लागि आएको रकममा भ्रष्टाचार, मालपोतका तीन जनामाथि उजुरी !

मुक्त हलियाका लागि जिल्ला मालपोत कार्यालय डडेल्धुरा मार्फत आएको २३ करोड मध्ये ३ करोड ३८ लाख रुपैयाँ भ्रष्टाचार भएको तथ्य बाहिर आएको छ । डडेल्धुरा जिल्ला मालपोत कार्यालयको तथ्याङ्क अनुसार कुल १२ सय हलियाका लागि आएको रकम मध्ये बीस हजारका दरले मालपोत कार्यालयले घुस मागेको भन्दै पिडितहरुले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका छन ।

घुस मागेको आरोपमा जिल्ला मालपोत कार्यालयका लेखापाल दिल बहादुर ऐर, कार्यालय सहायक मान बहादुर विक र मुक्त हलिया महासंघ डडेल्धुराका अध्यक्ष तुलाराम सार्की विरुद्ध जिल्ला प्रशासनमा उजुरी परेको हो ।

जिल्ला प्रशासनमा तीनजनाका विरुद्ध नाम किटानी सहित उजुरी परेपछी गत विहिबार देखी वयान लिने काम समेत सुरु भएको सहायक प्रमुख जिल्ला अधिकारी करुणाकर अवस्थीले वताए ।
अमरगढी २ का पिडित हिक्मत दमाई, रमेश दमाई र धर्म तिरुवा लगायतका मुक्त हलियाले नाम किटानी सहित रकम लिएको भन्दै तीनजना बिरुद्ध उजुरी गरेका हुन् ।
मुक्त हलियाहरुले जिल्ला प्रशासनमा घुुस खाने कर्मचारीको नाम किटानी सहित उजुरी गरेपछी कमिसन बपतको पैसा फिर्ता गर्ने क्रम समेत बढेको छ । घुसकाण्डमा मुछिएका कर्मचारीहरुलाई स्पष्टीकरण साधेर छोडिएसंगै उनीहरु कमिसन खाएका व्यक्तिका पैसा फिर्ता गर्नमा व्यस्त देखिन्छन् ।
जिल्ला प्रशासनमा उजुरी परेका मध्ये लेखापाल दिल बहादुर ऐर, मान बहादुर विक र तुलाराम सार्कीले मुक्त हलियाबाट लिएको  रकम फिर्ता गरेका छन ।
दुई वर्षपछी घुस रकम फिर्ता पाउनेहरुमा अमरगढी १ का राज बहादुर टमटा-२० हजार रुपैँया, नरवीर टमटा-२५ हजार रुपैँया, उद्धव सार्की-१० हजार रुपैँया, रमेश दमाई-४ हजार रुपैँया, सिद्धराज चुनारा-८५ हजार रुपैँया, जोगी टमटा-१० हजार रुपैँया, राम सिं लुहार-५ हजार रुपैँया, गणेश चुनारा-२० हजार रुपैँया र धर्म तिरुवा १ हजार रुपैँया रहेका छन । सबैभन्दा वढी घुस स्वरुप कार्यालयका लेखापाल दिल वहादुर ऐरले २ लाख रुपैँया फिर्ता गरेका छन ।
जिल्ला मालापोत कार्यालयका कर्मचारी मान बहादुर बिक र मुक्त हलिया समाज डडेल्धुराका अध्यक्ष तुलाराम सार्कीले २०-२० हजार रुपैँयाका दरले पिडित हलियाको रकम फिर्ता गरेका हुन ।

यसरी जिल्लाभरीबाट घुस लिएको रकम करोडौँ हुनसक्ने भन्दै जिल्ला प्रशासन कार्यालय डडेल्धुराले अनुसन्धान सुरु गरेको छ ।