तेस्रोलिंगीका गुनासाः ‘समाजले हामीलाई कहिले स्वीकार्छ’

जगतदल जनाला विक
सुर्खेत, १२ पुस ।
समाजमा खुलेर आएका तेस्रोलिंगीलाई दुरव्यवहार गरिन्छ । अनि खुल्न चाहनेले कसरी खुल्ने ? म खुलेर पनि पछुताएको छु । बुझ्नेले मलाई नील हिरा समाजकी सामुदायिक कायकर्ता भन्लान भने नबुझ्नेले के भन्लान कसरी थाहा हुन्छ र ? शनिवार सुर्खेतमा भएको विश्वव्यापी समीक्षा कार्यक्रममा किन सबै तेस्रोलिङ्गि खुल्न चाहदैनन भन्ने प्रश्नको मार्मिक जवाफ दिदंै थिइन् नील हिरा समाजमा कार्यरत अञ्जली विसी ।
भनेर खुलेको ६ वर्ष बितिसक्दा पनि समाजबाट आफुले कहिल्यै सकरात्मक सोच नराखेको बताइन् ।
‘बाटो घाटो हिंड्दा होस या यात्रामा सदैव हामीहरुले हिंसा नै खेप्नुपर्छ ।’ विसीले भनिन्’ ‘ राम्रो लागायपछि नाच कहाँ छ कति पैसा दिएका छन् भनेर सोध्छन् । गाडीमा बस्दा त्यो सिटमै कोहि बस्दैनन् आजभोली त यातायातका साधनन नै रोक्दैनन् ।
आफुले यात्राका क्रममा भोगेका समस्याहरु बारे बताउँदै कतिपय कार्यक्रम र यात्रामा सौचालयमा समेत विभेद हुने गरेको सुनाईन् । ‘चर्पीहरुमा पुरुष र महिला मात्र लेखेको हुन्छ हामी जस्ता तेस्रोलिंगी त्यहिं पनि हिंसामा पर्छो ।’ अनि कसरी समाजमा अरु खुल्छन् त ? भन्दै विसीले सहभागीहरुलाई प्रश्न गरिन् ।
उनीहरु पनि यो समाजका नागरिक हुन उनीहरुको पनि समाजमा बाँच्न पाउने अधिकार छ भन्ने जब सम्म आम नागरिकले बुझ्दैनन् तब सम्म सुखी नेपाली र समृद्ध नेपालको नारा सार्थक हुन नसक्ने तर्क विसीले गरिन् ।
खुलेर आएकालाई समाजमा र परिवारमा स्वीकार्यताको पाटो धेरै कठिन छ भने कति जनालाई परिवारले वहिष्कृत पनि गरेको छ । गास, बास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारबाट वञ्चित हुनु परेको छ । नखुलेकाले यी समस्याको सामना गर्नु परेको छैन । जसले भित्र लुकेर रहेकाहरु भित्र भित्रै गुम्सिएका छन् । बाहिर खुल्न सकेका छैनन् ।
रोजगारीका अवसर धेरै भएपनि तेस्रोलिंगीलाई कुन निकायले दिन्छ रोजगार ? भन्नेमा अन्यौल भएको तेस्रोलिंगी झप बहादुर नेपालीले बताए । ‘सरकारी निकायदेखि निजी क्षेत्रका कार्यालय सहयोगीदेखि मुख्यसचिवसम्म महिला या पुरुष मात्रै रोजिन्छ र राखिन्छ । अनि हाम्रो स्थान खोई ? रोजगारीको दरखास्त आव्हान गर्दा मैले कुन लैंगिक पहिचानमा दरखास्त भरु जहाँ मलाई सम्बोधन नै गरिएको हुँदैन ।’ नेपालीले भने,नागरिकतामा समेत विभेद छ ।
समाजमा महिला र पुरुष भन्दाफरक पहिचान भएका समुदाय पनि छन, जसको पहिचान पाउनु उनीहरुको अधिकार हो । पहिचान अनुसारको नागरिकताका लागि सरोकारवाला सबैले आवाज उठाउनुपर्ने नेपालीको भनाई छ । तेस्रोलिङ्गिहरुले गरेको बिवाहलाई समेत समाजले स्वीकार्न नसकेको प्रति उनको गुनासो छ । नील हिराले सुर्खेतमा यौन, एचआइभी एड्स र प्रजननका क्षेत्रमा काम गर्दै आएको छ । भर्खरै लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान पनि सकिएको छ यस्ता अभियान प्रत्येक वर्ष चलेपनि तेस्रोलिंगीे सदैव हिंसा खेप्नुपर्ने अवस्थालाई अन्त्य गर्नुपर्ने मध्यपश्चिमाञ्चल विश्वविद्यालय कानुन विषयका उपप्रध्यापक सुजन पन्तले बताए । २०६९ साल पुसमा गृह मन्त्रालयले यौनिक तथा लैंगिक अल्पसंख्यकलाई नागरिकता दिन जारी गरेको निर्देशिकामा ‘अन्य’ उल्लेख गरेर नागरिकता दिने उल्लेख छ ।गृहले परिपत्र नै जारी गरेर जिल्ला प्रशासन कार्यालयहरुलाई पुरुष, महिला र अन्य लैंगिक पहिचानमा नागरिकता दिन निर्देशन दिएपछि तेस्रोलिंगीलाई नागरिकतामा सहज भएको थियो ।
२०७८ सालमा हुने जन गणनामा हाम्रो पूर्ण सहभागिता र सत्य तथ्याङ्क आउनु पर्छ । जसले गर्दा हाम्रो समुदायको पहुँच राज्यको तीनवटै तहको दृष्टिमा पर्नेछ । अरु महिला, बालबालिका र पुरुषले पाएको अवसरमा तेस्रोलिंगीको पनि पहुँच पुग्ने उनीहरुको भनाई छ । युएसएआइडीको एफएच आई ३६० पारस्परिक जवाफदेहिता परियोजनाका अर्थिक सहयोग तथा नील हिरा समाजको आयोजनामा भएको छलफल कार्यक्रममा कानुन व्यवसायिक, नागरिक समाज, युवा तथा अन्य व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।