डडेल्धुरामा खुकुलो पार्दै थप ७ दिन लम्ब्याइयो निषेधाज्ञा

डडेल्धुराः कोरोना संक्रमण नियन्त्रणका लागि डडेल्धुरामा जारी भएको निषेधाज्ञा खुकुलो पार्दै सात दिनका लागि थपिएको छ ।जिल्ला प्रशासन कार्यालय डडेल्धुराले केही खुकुलो पार्दै निषेधाज्ञालाई थप गरेको हो। प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेको अध्यक्षतामा बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले असार ७ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो। प्रशासनले जिल्लामा यो पाँचौं पटक निषेधाज्ञा थपेको हो। खुकुलो पार्दै असार १ देखि ७ गतेसम्म निरन्तरता दिइएको प्रजिअ घिमिरेले जानकारी दिए ।

अत्यावश्यक सेवा बाहेकका अन्य सार्वजनिक सेवा हाललाई बन्द गरिने उनले बताएका छन्। निषेधाज्ञाको समयमा अत्यावश्यकबाहेक सबै सवारी साधन बन्द रहनेछन्। अत्यावश्यक सवारी साधन जस्तै एम्बुलेन्स, खाद्य तथा स्वास्थ्य सामग्री बोकेको सवारी साधन, दुग्जन्य पदार्थ बोकेको सवारी, बैंक तथा वित्तीय संस्थाका सवारी, दूरसञ्चार तथा इन्टरनेट र आइसोलेसनका सवारी स्पष्ट खुल्ने कागजातका आधारमा सञ्चालन हुनेछन् ।

खाद्य सामग्रीका पसलहरू, तरकारी, दुग्घजन्य तथा मासु पसल र स्टेशनरी पसलहरू प्रत्येक दिन बिहान ७ बजेदेखि दिउँसो १२ बजेसम्म खुला गर्ने निर्णय गरिएको घिमिरेले जानकारी दिए । यसअघि हप्तामा चार दिन आइतबार, मंगलबार, बिहीबार र शुक्रबार बिहान ७ बजेदेखि बिहान १० बजेसम्म खोल्न पाइने निर्णय गरेको थियो। अब सातै दिन खुला हुने भएका हुन्।

यस्तै, बैंक तथा वित्तीय संस्थामा पनि प्रशासनले निषेधाज्ञा खुकुलो पारेको छ। अब बैंक तथा वित्तीय संस्थाहरू बिहान ९ बजेदेखि दिउँसो १२ बजेसम्म सञ्चालन हुनेछन् । यसअघि आइतबार, मंगलबार, बिहीबार र शुक्रबार मात्र खोल्न आदेश दिएको थियो । सबै प्रकारका सभा सम्मेलन, गोष्ठी तथा भीडभाड हुने स्थान बन्द रहनेछन्। विवाह ब्रतबन्धको हकमा स्वास्थ्य मापदण्ड पालना गरी बढीमा १० जनासम्म मात्रै भेला हुन पाउनेछन्।

यस्तै, नेपाल सरकारका कर्मचारी, बैंक वित्तीय संस्था तथा अन्य अत्यावश्यक कार्यालयका कर्मचारीले कार्यालयले जारी गरेको परिचयपत्रका आधारमा आवतजावत गर्न पाउनेछन्। पत्रकारको हकमा भने सूचना विभागले जारी गरेको परिचयपत्रका आधारमा आवतजावत गर्न पाउनेछन्। सूचना विभागको परिचयपत्र नभएपछि आधिकारीक निकायमा दर्ता भएको सम्बन्धितसञ्चार गृहको किटानी सिफारिसका आधारमा जिल्ला प्रशासन कार्यालयले जारी गरेको पासका आधारमा आवतजावत गर्न सकिनेछ।