स्थानीय सरकार र नागरिक संस्थाबीचको सम्बन्ध बिषयक अन्तरक्रिया

Jan 10, 2019

शेरबहादुर भुजेल 

रामेछाप, पुस २६

तीन नम्बर प्रदेशका सांसद शान्ति प्रसाद पौडेलले नागरिक संस्था र सरकार मुलुककोे विकास र समृद्धिका लागि मिलरे जानुपर्ने बताउँनु भएकोछ । रामेछापको सदरमुकाम मन्थलीमा बुधबार स्थानीय सरकार र नागरिक संस्था बीचको सम्बन्ध बिषयक अन्तरक्रिया कार्यक्रम सांसद पौडेलले सो कुरा बताउनु भएको हो ।


यूएसएआईडीको आर्थिक सहयोगमा, एफएचआई ३६० र हुराडेक नेपाल दोलखाको आयोजना र गैरसरकारी संस्था महासंघ रामेछापको समन्वयमा सम्पन्न उक्त कार्यक्रममा बोल्दै सांसद पौडेलले नागरिक समाज र सरकारको बिचमा सहकार्यको आवश्यकता औल्याउँनु भयो ।

सो अवसरमा वहाँले लोकतन्त्र स्थापनामा नागरिक समाजका संस्थाको महत्वपूर्ण भूमिका रहेको स्मरण गर्दै पौडेलले देशमा स्थायित्व कायमको लागि पनि सबै पक्ष एकजुट हुनुको विकल्प नरहेको धारणा ब्यक्त गर्नु भयो । सरकार योजनाबद्ध विकासमा लागेको भन्दै वहाँले मन्थली बजार क्षेत्रमा तत्काल बाइपास सडक निर्माण गर्न मन्थली नगरपालिकालाई निर्देशन दिनु भयो ।

गैरसरकारी संस्था महासंघ रामेछापका अध्यक्ष भुवनकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेमबहादुर खड्काले जिल्ला समन्वय समिति नागरिक संस्थाहरुसंग सहकार्य गरेर अगाडी बढ्ने प्रतिवद्धता जनाउँनु भयो । वहाँले नागरिक समाज बलियो भए मात्र दीगो विकास हुने बताउँनु भयो ।


मन्थली नगरपालिका प्रमुख रमेशकुमार बस्नेतले सुशासन स्थापनाका लागि मन्थली नगरपालिका तेस्रो पक्षलाई अनुगमन गराउन तयार रहेको बताउँनु भयो । वहाँले कही कतै अनियमितिता भए कारबाहीको दायरामा ल्यान आफु तयार रहेको समेत प्रतिवद्धता जनाउँनु भयो ।

कार्यक्रममा रामेछापका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्माले नागरिक संस्था र सरकार बिच प्रगाढ सम्बन्ध स्थापना गर्न आफुले सधै प्रयत्नरत रहने बताउँनुभयो । प्रमुख जिल्ला अधिकारी शर्माले कतै समस्या देखिए देखिएको समस्याका बारेमा बसेर छलफल गरी समाधान गर्ने बताउँनु भयो ।

संविधान सभाका पुर्व सदस्य तारानारायण श्रेष्ठले हरेक क्षेत्रमा विकृती रहेको बताउदै यसको समाधानका लागि सबै एक भएर लाग्नु पर्ने बताउँनु भयो । श्रेष्ठले निर्वाचित जनप्रतिनिध, कर्मचारी, नागरिक संस्था तथा पत्रकारहरु समेत सबै जिम्मेवार हुनुपर्नेमा जोड दिनु भयो ।