स्थानीय तहले संचालन गर्ने योजना नागरिक समाजले अनुगमन गर्ने

Aug 6, 2019

मोहसिन अलि मियाँ

श्रावण २१, गाेरखा 

गोरखा नगरपालिकाले संचालन गर्ने विकास निर्माणका योजनाहरुमा नागरिक समाज सहितको टोलीले अनुगमन गर्ने भएको छ । गोरखा नगरपालिका अन्तरगत रहेको साझेदारी मञ्चको बैठकबाट यस्तो निर्णय भएको हो । नगरपप्रमुख एवं साझेदारी मञ्चका संयोजक राजनराज पन्तको अध्यक्षतामा भएको बैठकमा भएको छलफलमा नगरपालिकाले संचालन गर्ने कार्यक्रम, योजनाहरुलाई पारदर्शी र प्रभावकारी बनाउन नागरिक समाज, संचारकर्मी सहित जनप्रतिनिधी, नगरपालिकाका प्राविधीक सहितका कर्मचारीले संयुक्त अनुगमन गर्ने निर्णय भएको हो ।


त्यस्तै बैठकले विकास निर्माणका काम संचालन भएका स्थानमा होर्डिङ बोर्ड राख्न आवस्यक बजेटको ब्यवस्था समेत नगरपालिकाको कार्यालयले गर्ने निर्णय गरेको छ । ‘हामी हरेक कार्यक्रम, विकास निर्माणका योजनालाई पारदर्शी रुपमा अघि बढाउन चाहान्छौ’ नगरप्रमुख पन्तले भन्नुभयो ‘अब नागरिक समाज, पत्रकारलाई पनि अनुगमनमा लैजान्छौ, त्यस्तै योजना स्थलमा फ्लेक्स, होर्डिङ बोर्डको पनि अनिवार्य प्रवन्ध मिलाउछौ ।’ होर्डिङ बोर्डमा योजना संचालन गर्ने निकाय, बजेट, योजना संचालन भएको मिति, सक्नुपर्ने मिति, स्थानीय जिम्मेवार निकाय लगायतका बिषय समेटिने छन् ।


त्यस्तै गोरखा नगरपालिकामा रहेको साझेदारी मञ्च संचालन निर्देशिका निर्माण गर्न ३ सदस्यिय समिति गठन भएको छ । जसमा नागरिक समाजका तर्फबाट नागरिक साझा सवाल गोरखाका संयोजक एवं अधिवक्ता स्थानेश्वर दुवाडी, नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्णकुमारी श्रेष्ठ, २ नम्बर वडाध्यक्ष एवं सामाजिक विकास समितिका संयोजक रहमतुल्ला मियाँ रहेका छन् । समितिले मञ्चको आगामी बैठकमा निर्देशिकाको ड्राफ्ट गरी पेश गर्ने र बैठकबाट त्यसलाई अन्तिम रुप दिइने बताइएको छ ।
यसैगरी बैठकले गोरखा नगरपालिकामा देखिएको बेरुजू रकम कम गर्न ध्यानाकर्षण गर्ने गराउने समेत निर्णय गरेको संयोजक पन्तले बताउनुभयो । त्यस्तै बैठकले प्रत्येक २÷२ महिनामा साझेदारीे मञ्चको बैठक अनिबार्य बस्ने र आवस्यकताअनुसार कम समयमा समेत बस्न सकिने निर्णय गरेको छ । बैठकको सहजीकरण सोच नेपालले गरेको थियो ।