महिला दिवसले छोएन मजदुरलाई

डडेल्धुरा, फागुन २४ 

डडेल्धुराको बसपार्कमा तामझामका साथ १०९औँ अन्तर्रा्ष्ट्रिय महिला दिवसको कार्यक्रम हुँदै थीयो । कार्यक्रममा कोही महिला सम्मान ग्रहण गर्दै थिए त कोही भाषण गर्दै थिए । त्यसको एक किलोमीटर पर महिलालाई बालुवा बोक्दै फुर्सद थिएन ।

बिहानैदेखि आफ्नै सुरले बालुवाको भारी बोकिरहेका उनिहरुलाई आज महिला दिवस हो भनेर कसले भनिदिने ? भनिदिएको भए पनि के नै फरक पथ्र्यो र ? अमरगढी नगरपालिका १ कि पार्वती टमाटा बिहान ७ बजे बालुवा बोक्न आएकी हुन । उनले दिउसोको १ बजे सम्म पनि खाना खाएकि थिईनन । महिला दिवसको बारेमा थाहा नभएको उनले बताइन ।

डडेल्धुराको चिसोमा पनि उनको अनुहारमा पसिना बगिरहेको थियो । कट्ठा (वोरा)मा बालुवा हाल्दै भनिन, खै के होे । हामीले त काम नगरे खान पाउने होइन क्यारे । कामै गर्न छोडेर दिवस न सिवस ।’ दिनभरी कामगरेर र त भनेको बेला पैसा दिदैनन । झन कामै छोडेपछि त खै ।

नबदुर्गा गाँउपालिका २ कि जानकी टमटा यतिबेला २४ बर्षकी भईन । उनका श्रीमान अपाङ्ग छन । २ सन्तान हुर्काउने जिम्मेवारी उनको एक्लो काँधमा छ । त्यसैले न त उनले चिसो भन्न पाउँछिन, न त गर्मी नै । काम खोज्नको लागि आफ्नो घर छोडेर नन्दको घरमा बसेर मजदुरी गर्छिन । जानकीले बिहानैदेखि साँझ अबेलासम्म मरिमेटेर काम गरे पनि ज्याला असाध्यै कम छ, त्यहि पैसा पनि कोहि दिन्छन, कोहि ठेकेदारले हामीलाई ठगी दिन्छन ।

बालुवाका कट्ठा देखाउदै भनिन यि सबै बोकेपछि साँझ खाना पाइन्छ । उनीसँगै काम गरिरहेकी ५५ बर्षिया धौलीको कथा पनि उनीभन्दा केहि फरक थिएन । उनले भारी बोक्न थालेको २० बर्ष भईसकेको छ । अहिलेसम्म उनले कहिल्यै महिला दिवसबारे नसुनेको बताइन । ‘के हुन्छ र त्यस्तो मैले त आजै सुनें उनले भनिन, ‘काम नगरे खानै पाइन्न । त्यस्ता कार्यक्रममा गएर खान पाउने हो र ? यति काम गरेर आफूहरुले दिनभरि पसिना चुहाएर त भनेको समयमा पैँसा नपाउने उनको गुनासो थियो । उनको प्रश्न थियो, भारी बोकेर जिविकोपार्जन गर्न सजिलो कहाँ छ र ? सन्चो बिसन्चो भन्न पाईदैन । न त कामगरे अनुसार पैसा छ । भनेको बेला काम तयार हुनुपर्ने । ‘साँझबिहान नभनी काम गर्नुपर्छ । उनले दुखेसो पोखिन, उक्त कमाइले साझ किहान खान–लाउन मात्रै ठिक्क हुँदा कहिलेकाहीँ परिवारका सदस्य बिरामी भइहाले ठूलै आपत आइलाग्ने उनले बताईन ।

अन्तर्रा्ष्ट्रिय स्तरमै मनाइँदै आएको महिला दिवसले जानकी, पार्वती र धौलीजस्ता वास्तबिक श्रमिक महिलालाई भने छोएको छैन । उनीहरु साँझ बिहानको रोजीरोटीका लागि दिनरात मेहेनत गर्दैछन । २२ बर्षीया मायाले भने दिवस बारे हिजो सुनेको रहेछ तर जान पाइनन ।

‘हिजो २/४ जना आएका थिए । के–के कार्यक्रम गर्ने भनिरहेका थिए सम्मान गर्ने भन्थे । आफ्नो काम छोडि कहाँ जानु काम गरे पो खानपाएला भनेर गएन । महिलाको हक, अधिकारका लागि दिवसको महत्व छ भन्ने पनि थाहा छैन यसरी पसिना बगाएर दैनिकी चलाउनेलाई ‘के को हाम्रो अधिकार, सधै काम गरेर खान पाए भयो, अरु कसले के दिन्छ र ? यही काम पनि नपाइएला भन्ने कत्रो डर छ हामीलाई ।’

डडेल्धुरामा महिला दिवस कै दिनमा पनि धेरै महिलाहरु दिवसको प्रवाह नगरी काम मै व्यस्त भैरहदाँ महिला क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी संस्थाहरु श्रमिक महिलाहरु सम्म पुग्नु जरुरी रहेको सरोकारवाला बताउँछन ।