भूकम्पले क्षति गरेका पन्ध्र विद्यालय पूनर्निमाण भएनन्

Oct 1, 2018

हिमनाथ देवकाेटा

असाेज १५, रसुवा

रसुवाको नौकुण्ड गाउँपालिका–४ सरमथलीमा रहेको निर्कुभूमे माविमा ६ सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । जिल्लाको नौकुण्ड गाउँपालिका र नुवाकोटको सूर्यगढी गाउँपालिकाका विद्यार्थी त्यहाँ पढ्न जान्छन् । करिब तीन घण्टाको बाटो हिँडेर विद्यार्थी विद्यालय पुग्छन् । भूकम्पले भत्किएको विद्यालय अझैसम्म निर्माण हुन नसक्दा अध्ययन अध्यापनमा समस्या आउने गरेको छ ।

‘भूकम्प जानुपूर्व टाढाबाट आउने विद्यार्थीलाई बस्ने व्यवस्था थियो', प्रधानाध्यापक दिल बहादुर धितालले भन्नुभयाे, 'अहिले पढाउनका लागि कक्षाकोठा समेत पर्याप्त छैन् ।’ चालिस जना विद्यार्थी करिब तीन घण्टाको बाटो हिँडेर विद्यालय आइरहेको उहाँले बताउनुभयाे ।

‘लामो दिनमा त उनीहरूलाई विद्यालय आउन धेरै समस्या हुँदैन, उहाँलेभने, 'तर छोटो दिनमा विद्यार्थीले झोलामा टर्च बोकेर आउनु पर्ने बाध्यता छ ।’

हिउँद लागेपछि जाइकाले १२ कोठाको भवन निर्माण गर्ने जानकारी दिँदै उहाँले वर्षाको कारण भवन निर्माण प्रक्रिया अघि बढ्न नसकेकाे र सडक सुचारु भएपछि निर्माण सुरु हुने बताउनुभयाे ।  भवन नहुँदा पठनपाठनमा निकै कठिन भएको विद्यालयले जनाएको छ ।

नौकुण्ड गाउँपालिका–३ पारच्याङमा रहेको गौतमबुद्ध माविको भवन निर्माण अझै सुरु भएको छैन् । कक्षा १० सम्म पढाइ हुने विद्यालयमा पाँचवटा कोठा निर्माण भएको छ । बाँकी कोठा निर्माणको सुरसार नै भएको छैन । 

विद्यालय भवनको अभावमा घाम लाग्दा, पानी पर्दा अनि हावाहुरी चल्दा पठनपाठन पूरै अवरुद्ध हुने गरेको विद्यालयले जनाएको छ । ‘ठुलो हावाहुरी आयो भने भएको संरचना उडाएर लैजाने चिन्ता छ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नेमा ग्यावा तामाङले भन्नुभयाे, 'हामी भवन निर्माणका लागि सहयाेग खोजिराखेका छौँ ।’

जिल्लाको गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेमा रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालयको अवस्था पनि उस्तै छ । उक्त विद्यालयमा कक्षा ८ सम्म पढाइ हुन्छ । विद्यालयको तीनकोठे पक्की भवन छ । जसमा एउटामा कार्यालय र एउटामा पुस्तकालय सञ्चालित छ ।

बाँकी एउटा कक्षामा पढाइ हुन्छ । अरु कक्षाको पढाइ जस्ताको टहरामा भइरहेको छ । यो विद्यालय एक वर्षअघि चीन सरकारले निर्माण गर्नका लागि जिम्मा लिएको थियो । ‘विद्यालय निर्माण नगर्ने भए हामीले पहल गर्न सहज हुन्थ्यो, प्रधानाध्यापक फुर्पुदोर्जे घलेले भन्नुभयाे, 'निर्माण गर्ने भनेर ओगटेर राख्दा भवन निर्माण गर्न समस्या भइरहेको छ ।’

भूकम्प गएको ३९ महिना वितिसक्दा समेत जिल्लाका १५ वटा विद्यालयको निर्माण अझै सुरु हुन सकेको छैन् । जग्गाको अभाव र विस्थापित भएका गरी १२ वटा र चीन सरकारले जिम्मा लिएका तीनवटा विद्यालयको निर्माण सुरु नभएको शिक्षा विकास तथा समन्वय इकाइ रसुवाले जनाएको छ ।

जिल्लामा पाँचवटा विद्यालय विस्थापित भएका छन् । तीनवटा विद्यालय चीन सरकारले बनाउने भनेर जिम्मेवारी लिएको छ । केही विद्यालयमा भने भवन निर्माणका लागि कुनै निकाय नै पुगेको छैन ।

कतिपय विद्यालयमा जग्गाको अभाव देखिन्छ । बन्न बाँकी रहेका विद्यालयले जिल्ला आयोजना कार्यान्वयन इकाइ (शिक्षा) मा भदौ मसान्तसम्म आवेदन दिन सक्ने छन् । आर्थिक वर्ष ०७५र७६ मा भवन निर्माण गर्नका लागि आवेदन माग गरिएको छ ।
पाँचवटै गाउँपालिकाले निर्माण गर्न बाँकी विद्यालयको सूची पेश गर्नुपर्ने छ ।

गाउँपालिकाले सिफारिस नगरेमा विद्यालय आफैँले प्रस्ताव दिन सक्ने आयोजना प्रमुख सरद कुमार भण्डारीले जानकारी दिनुभयाे ।जिल्लामा अहिलेसम्म ३८ वटा विद्यालयको भवन निर्माण सम्पन्न भएको इकाइ प्रमुख बालकृष्ण सिंखडाले बताउनुभयाे । ‘विस्थापित भएका र ओगटेर काम नगरेका विद्यालय निर्माण हुन सकेको छैन्, इकाइ प्रमुख सिंखडाले भन्नुभयाे, 'यसका लागि हामीले समन्वय गरिरहेका छौँ ।’