महिला लक्षित बजेट विनियोजन नहुँदा काटाकुटीका महिलाहरु मारमा

दोलखाको शैलुङ गाउँपालिका वडा नम्बर ३ ले महिला लक्षित बजेट विनियोजन नगर्दा महिलाहरु मारमा परेको गाउँपालिकामा गठित श्रोता क्लबका सदस्यहरुले बताएका छन् ।

गाउँपालिकाको वडा नम्बर ३ काटाकुटीमा गठित समुहका सहजकर्ता लक्ष्मीडोल्मा तमाङ र सदस्यहरुले मंगलबार बसेको श्रोता समुहको ७ औँ बैठकमा छलफल गर्दै वडाले महिला लक्षित बजेटबाट आफुहरुलाई बञ्चित गराएको गुनासो गरेका हुन् ।

गाउँपालिकामा श्रोता समुह गठन नहुँदासम्म कुन कार्यालयले कुन शिर्षकमा कति बजेट विनियोजन गर्छ भन्ने कुरामा अनभिज्ञ रहेका स्थानीय महिलाहरु आजभोलि आफ्नो लागि कति रकम विनियोजन भएको छ, त्यो रकम कसरी र कुन काममा प्रयोग गर्न सकिन्छ भन्ने बारेमा सचेत देखिन्छन् । उनीहरु भन्छन् 'स्थानीय जनप्रतिनिधिहरुले स्थानीय जनताका लागि के गर्दैछन्, कसरी काम गरिरहेका छन्, निर्वाचनका बेला गरिएका प्रतिवद्धता कार्यान्वयन गर्दैछन् कि छैनन् भन्ने विषयमा चासो समेत राख्न थालेका छौँ ।'

२०७४ साल गत साउन २६ गते गठन गरिएको यो रेडियो श्रोता समुहमा आवद्धमध्ये १५ जना सदस्यहरुले हालै सामुहिक रुपमा वडा कार्यालय पुगेर महिला लक्षित बजेटबारे सोधीखोजी गरे । त्यहाँ पुगेर उनीहरुले महिला लक्षित कार्यक्रमको लागि गाउँपालिकाबाट कति बजेट विनियोजन गर्नुभयो भनेर सोध्दा वडाध्यक्ष किरण श्रेष्ठले गाउँपालिकाले हालसम्म महिला लक्षित बजेट भनेर विनियोजन नगरेको जानकारी दिनुभयो ।

सुरुवाती दिनमा समुहमै बस्न नचाहने महिलाहरु हाल कुन दिन श्रोता समुहको बैठक बस्छ, बैठकमा कस्ता कस्ता सवालमा छलफल हुन्छ भन्ने जस्ता कुराहरु बारे फोन मार्फत जानकारी लिन थालेका छन् । खेतबारीको काममा व्यस्त देखिएका यहाँका महिला तथा पुरुषहरु रेडियो कार्यक्रम साझाबोली सुन्न र छलफल गर्न आतुर भई सहभागी हुने गरेका छन् । सदस्यहरुले हालसम्म ज्येष्ठ नागरिक भत्ता, गाउँपालिकाले विनियोजन गरेको महिला लक्षित बजेट के र कहाँ खर्च भैरहेको छ जस्ता विषयमा वडाध्यक्षसँग बसेर छलफल समेत गरिसकेका छन् ।

श्रोता समुहले अब महिलाहरुको सिपमुलक तालिमका लागि गाउँपालिकाले के ब्यवस्था गरिरहेको छ भन्ने विषयमा छलफल गर्ने तयारी गरिरहेको छ । 

सामुदायिक संचारकर्मी विमला बुढाथोकीबाट

Member Comment