देउडामार्फत निर्मलाको लागी न्याय माग्दै बैतडीका महिलाहरु

Dec 3, 2018

जयराज अवस्थी
मंसिर १७, बैतडी

बैतडीको विभिन्न ठाँउहरुमा महिलाहरुले निर्मलाका हत्यारालाई पत्ता लगाउन सरकारलाई देउडा मार्फत आग्रह गरेका छन् । शनिबार बैतडीको पाटनमा १६ दिने लैगिंक हिसा विरुद्धको अभियान अन्तर्गत भएको देउडा कार्यक्रममा सहभागी महिलाहरुले निर्मलालाई न्याय दिन सरकारको ध्यानाकर्षण गराएका हुन् ।

बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी १३ बर्षीया निर्मला पन्तका परिवारले ४ महिना सम्म न्याय नपाएको भन्दै महिलाहरुले देउडा मार्फत सरकारको कडा आलोचना गरेका छन् । महिलामाथि हुने हिंसाका न्यूनीकरणका लागि बनेका कानुनहरुको कार्यान्वयन गर्न पनि उनीहरुले देउडा गीत ध्यानाकर्षण गराए ।

परोपकार ग्रामीण विकास संघको आयोजनामा भएको देउडा कार्यक्रममा पाटन नगरपालिकाका विभिन्न ६ वटा महिला समूहहरुको सहभागिता रहेको थियो ।  आफूहरुले देउडा मार्फत महिलामाथि हुने हिंसा न्यूनीकरण गर्न र निर्मला पन्तका परिवारलाई न्याय दिनका लागि आग्रह गरेको सहस्त्रलिंग महिला समूहका अध्यक्ष डम्मरी भट्टले बताउनुभयो । सरकारले आफूहरुको आवाज अझै पनि नसुनेकाले देउडागीत मार्फत सरकारको ध्यानाकर्षण गराएको उहाँले बताउनुभयो ।

यसैबीच जिल्लाकोे सुर्नया गाउँपालिकामा पनि लैगिंक हिसा विरुद्धको १६ दिने अभियान अन्तर्गत एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिका उपाध्यक्ष लीला बिष्टको अध्यक्षता एवं गाउँपालिकाका अध्यक्ष बीरबहादुर बिष्टको प्रमुख आतिथ्यतामा सम्पन्न भएको अन्तरक्रियामा कार्यक्रममा गाउँपालिकाभरीका ४५ जना महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई सम्मान गरिएको थियाे ।