महिला हिंसा प्रतिवादका लागि आत्मसुरक्षा तालिम

Feb 9, 2019

अछाम, माघ २६

मुलुकमा पछिल्लो पटक महिलामाथि भएको विभिन्न हिंसाका घटनाबाट जोगाउनको लागि लगातार जस्तो आत्मरक्षा र अन्य तालिमहरु स्थानीय स्तरमा सञ्चालन भइरहेका छन् । महिलाहरुका लागि तीन दिने आत्मरक्षा तालिम साँफेबगरमा पनि सुरु भएको छ ।

राष्ट्रिय गोजुरियो कराते दो संघ नेपालको आयोजना र साँफेबगर नगरपालिकाको आर्थिक सहयोगमा महिला, वालवालिका तथा किशोरीमाथि हुने हिंसाविरुद्ध शसक्तीकरणका लागि प्रतिकारात्मक प्रशिक्षण भन्ने मुल नाराकासाथ आईतबार साँफेबगरमा तालिमको सुरु भएको छ ।

तालिममा सहभागी भएका किशोरी रमिता वुढाले आफ्नै साथीहरुले हिंसाका बारेमा र दृव्र्यवहारको बारेमा कुरा गर्दा आफुलाई भन्न सजिलो हुने र हिंसाका बिभिन्न प्रकृतिका बारेमा समेत जानकारी प्राप्त भएको कुरा बताउनुभयो । किशोरीहरुलाई आत्मसुरक्षाको सैद्धान्तिक र प्रयोगत्माक कक्षा सञ्चालन भएको बताउनुभयो ।

तालिमले महिलामाथि हुने विभिन्न खाले हिंसा तथा बलात्कारकाविरुद्ध महिलाहरुलाई आफै नै आत्मसुरक्षा गर्न सहज हुने साँफेबगर नगरकार्यपालिका सदस्य जयन्ती वोगटीले बताउनुभयो । पुरुषबाट महिलामाथि भईरहेका हिन्सा न्यूनिकरणको लागि तालिम फलदायि भएको वोगटी बताउनुहुन्छ ।

महिलामाथिको हिंसालाई केही हदसम्म कम गर्न सकिन्छ भनेर आत्मसुरक्षासम्बन्धी तालिमको आयोजना गरेको प्रशिक्षक विएस ओडले जानकारी दिनुभयो । बाटोमा हिँडिरहेका बेला जिस्क्याउने, बलात्कार गर्ने, हतियारद्वारा आक्रमण गर्नेसम्मका घटनामा आत्म सुरक्षाका उपाय अपनाएर आफू र अरुलाई बचाउन सकिने प्रशिक्षक ओडको भनाई छ।

महिला स्वयंले बल, बुद्धि र विवेक लगाएर हिंसाबाट जोगिने ज्ञान र व्यवहारिक सिप सिक्ने भएका कारण नगरपालिकाको सहयोगमा तालिमको आयोजना भएको साँफेबगर नगरपालिकाका कार्वाहक प्रमुख विर्मला वुड्थापाले बताउनुभयो । उहाँले महिलामाथि हुने हिंसालाई न्यूनिरकण गर्नको लागि नगरपालिकाले तालिमलाई निरन्तरता दिने पनि कार्वाहक प्रमुख वुड्थापाको भनाई रहेको छ । हिंसा उन्मूलनका लागि हिंसालाई प्रारम्भिक चरणमा नै प्रतिकार गर्न जरुरी रहेको कार्वाहक प्रमुख वुड्थापको भनाई छ । आफू र अरुमाथि हुने कुनै पनि प्रकारका हिंसाविरुद्ध आवाज उठाउनु पर्ने कार्वाहक प्रमुख वुड्थापाको भनाई रहेको छ ।

पहिलो चरणमा आत्मरक्षा तालिम साँफेबगरमा आयोजना गरेपनि जिल्लाका अन्य ९ वटा स्थानीय तहमा समेत तालिमको आयोजना गरिने राष्ट्रिय गोजुरियो कराँते दो संघ अछामका अध्यक्ष प्रकाश शाहले जानकारी दिनुभयो । पछिल्लो समयमा किशोरी तथा महिला धेरै नै असुरक्षित हुन थालेपछि आत्मसुरक्षाका तालिमको आयोजना गरिएको अध्यक्ष शाहको भनाई रहेको छ । आत्मसुरक्षा तालिमको पहिलो चरण जनचेतना जगाउनु हो । सबैभन्दा पहिले हिंसालाई चिन्नुपर्छ । हिंसा के हो ? किन हुन्छ ? भनेर थाहा पाएपछि मात्र त्यसलाई कसरी प्रतिवाद गर्न वा रोक्न सकिने भएका कारण तालिमको आयोजना गरिएको उहाँको भनाई रहेको छ ।

तालिम तीन दिनसम्म सञ्चालन हुनेछ । तालिममा नगरका १४ वटा माध्यामिक विद्यालयका किशोरी, १४ वटै वडाका महिला सदस्य, नगरकार्यपालिका सदस्य, पत्रकार महिला, युवा सञ्जाल, दलित सञ्जाल, महिला सञ्जालमा आवद्ध भएका महिलाको तालिममा सहभागिता रहेको छ ।