पिपलकोटमा पहिलोपटक गाडी, स्थानीय हर्षित

Sep 29, 2019

विनोद सिंह विष्ट–बैतडी,१२ असोज -
बैतडीको दुर्गम तल्लोस्वराडमा पर्ने शिवनाथ गाउँपालिकाको पिपलकोटमा पहिलोपटक गाडी पुग्दा स्थानीय बासिन्दा हर्षित भएका छन् । शिवनाथ गाउँपालिकाको केन्द्र सुल्लेखान हुदैं छेला–बारु–पिपलकोट सडक निर्माणको काम सम्पन्न भएपछी भएपछि पिपलकोटमा पहिलोपटक गाडी पुगेका हुन् । पहिलोपटक गाडी पुग्दा निकै खुसी लागेको स्थानीय ६० बर्षीय बृद्ध कर्णसिंह साँउदले बताउनुभयो । सडक पुग्ला भन्ने सपना पनि थिएन गाडी समेत गुडेको देख्दा खुसी लागेको उहाँको भनाई छ । सडक उद्घाटनपश्चात पिपलकोटमा पहिलोपटक म १ ज २७२ नम्वरको जीप पुगेको हो । स्थानीय बासिन्दाले पहिलोपटक गाडी पुग्दा उक्त जीपका चालक बिरेन्द्र महतालाई फूलमाला अबिरले स्वागत समेत गरेका छन् ।
दुर्गम शिवनाथ गाउँपालिकाको वडा नं ४ को उक्त क्षेत्रमा सडकसञ्जाल बिस्तार भएसंगै सहज रुपमा आहोरदोहोर गर्न पाइने भएको छ । यसका साथै खाद्यान्न र दैनिक उपभोग्य सामग्री समेत ढुवानी गर्न सजिलो हुने पिपलकोटका व्यापारी दिपेन्द्र साँउदले बताउनुभयो ।
यसअघि सडकसम्म पुग्न तथा गाउँपालिका केनद्रसम्म पुग्न २ घण्टा उकालो हिड्नुपर्ने बाध्यताको समेत अन्त्य भएको स्थानीय मदन साँउदको भनाई छ । सडक सञ्जाल बिस्तार भएसंगै सस्तो र सुलभ मूल्यमा गाउँमै सम्पूर्ण सामान उपलब्ध हुने पिपलकोटका अर्का व्यापारी रामचन्द्र महताले बताउनुभयो । शिवनाथ गाउँपालिका र जनश्रमदान करिब ३७ लाखमा उक्त सडक निर्माण सम्पन्न भएको गाउँपालिका अध्यक्ष कर्णसिंह साउँदले जानकारी दिनुभयो । उक्त सडक निर्माण कार्यको सुरुवात वि स २०७४ देखि निर्माण सुरु गरिएको थियो ।