शिक्षकको नियमितताको लागि विद्यालयमा विद्युतीय हाजिरी


रामेछापको गोकुलगंगा गाउँपालिकाले पालिकाभित्र रहेका माध्यमिक विद्यालयमा कार्यरत शिक्षकहरुलाई विद्युतीय हाजिरीको व्यवस्था गरेको छ । विद्यालयमा शिक्षा क्षेत्रमा सुधार ल्याउनको लागि गाउँपालिकाले विद्युतीय हाजिरी प्रयोगमा ल्याएको हो । पालिकाभित्र रहेका सात ओटै विद्यालयमा गाउँपालिकाले विद्युतिय हाजिरी राखिदिएपछि त्यहाँ कार्यरत शिक्षकहरु पालिकाको प्रत्यक्ष निगरानीमा पर्ने भएका छन् ।विद्यालयमा कार्यरत शिक्षकहरु समयमै नआउने, विद्यालय समयभित्रै छोडेर हिड्ने, धेरै दिन पछि आएर हाजिरी गर्ने जस्ता गुनासो अभिभावकले राख्दै आएपछि गाउँपालिकाले विद्युतीय हाजिरीको सुरुवात गरेको हो । अब गाउँपालिका भित्र रहेका माविमा कार्यरत शिक्षकहरुले विद्यालय सुरु हुने समय र बन्द हुने समयमा हाजिर गरेर मात्र जान पाउँने छन् ।अन्यथा गाउँपालिकाले जुनसुकै समयमा विद्यालय समय भित्र शिक्षकहरु कार्यालयमा रहे–नरहेको जाँच गरेर कारबाही नै गर्ने छ । गोकुलगंगा गाउँपालिकाका अध्यक्ष खड्गबहादुर सुनुवारले शिक्षाको गुणस्तर सुधार गर्नको लागि पनि विद्युतीय हाजिरीले काम गर्ने विश्वास लिएको बताउनुभएको छ ।गोकुलगंगा भित्र रहेका सेती देवि मावि, जट्टेश्वोरी मावि, जनजागृती मावि, कमलादेवी मावि , श्री मावि, गोकुलगंगा मावि, र शारदा माविलाई आइतबार र सोमबार एक कार्यक्रमको आयाजना गरी विद्युतीय हाजिरी वितरण गरिएको हो ।शिक्षालाई पद्धतीमा लैजानको लागि गाउँपालिकाको दिर्घकालिन योजना रहेको भन्दै गाउँपालिका अध्यक्षसुनुवारले गुणस्तरीय शिक्षाको लागि आफूहरु लागि परेको बताउनुभयो । गाउँपालिकाले शिक्षा क्षेत्रको बिकासलाई प्रमुख प्राथमिकतामा राखेर काम गरीरहेको अध्यक्ष सुनुवारको भनाई रहेको छ ।गाउँपालिकाको शैक्षिक सूचनालाई विद्युतीय माध्यममा जोड्नको लागि पालिकाभित्र रहेका विद्यालयलाई विद्युतीय हाजिरी प्रदान गरिएको प्रमुख प्रशासकीय अधिकृत शिब कुमार राइले जानकारी दिनुभएको छ ।
श्रोतःरामेछाप न्युज डट कम