रेडियो श्रोता समूहका पहलमा विद्यालयको फोहोर व्यवस्थापन

Jan 20, 2019

बिशाल रानामगर

माघ ६, बैतडी

बैतडीको दशरथ चन्द नगरपालिकाको वडा नं. २, देहिमाण्डौंमा रहेको निंगलासैनी रेडियो श्रोता समुहको बैठकमा सोही ठाउँमा रहेको निंगलासैनी माध्यामिक विद्यालयको फोहोर व्यवस्थापनको बारेमा छलफल चल्यो । श्रोता समूहमा समेत रहेको विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले यो सवाललाई बैठकमा उठाएका थिए ।

बैठकमा उनिहरुले यसको समाधानका लागि चर्चा गरेपछि विद्यार्थीहरुलेनै यसको पहल गर्ने सल्लाह गरे । जस अनुसार उनिहरुले खाजा खर्चको रकमबाट दश दश रुपैयाँ जम्मा गर्ने निर्णय गरे र स्वस्र्फूत रुपमा चार हजार एक सय रुपैयाँ संकलन गरे ।

'श्रोता समुहको पहलमा विद्यालयमा फोहोर व्यवस्थापनको लागि भएको यस्तो प्रयास थाहा पाएर सो ठाउँमा पारस्परिक जवाफदेहिता कार्यक्रम संचालन गरिएको संजिवनी नेपालकी दमयन्ती बोहराले पाँच सय रूपैयाँ थपिदिनुभयो', श्रोता समुहका संयोजक भागरथी भण्डारीले भन्नुभयो, 'विद्यालयले पनि पाँच हजार रुपैयाँ सहयोग गर्नुभयो ।'

श्रोता समूहका सदस्यहरुले आफुले संचालन गरेको अभियानको बारेमा वडा अध्यक्षलाई भेटेर जानकारी गराए र सहयोगका लागि आग्रह गरे । विद्यार्थीहरुले स्वस्र्फूत रुपमा गरेको यो काम गरेको देखेर वडा नं. २ का अध्यक्ष रणबहादुर बोहरा र वडा कार्यालयका कर्मचारीहरुले चौध सय रुपैयाँ संकलन गरेर सहयोग गरे । 'वडा अध्यक्षले आगामी बजेटमा विद्यालयको फोहर व्यवस्थापनको लागि बजेट विनियोजन गर्ने आश्वासन पनि दिनुभएको छ', संयोजक भण्डारीले भन्नुभयो ।

श्रोता समूहले थालेको यो काममा सबैको सहयोग जुटेपछि कक्षाकोठामा हुने फोहोर संकलनका लागि १० वटा साना बाल्टिन र तिनमा जम्मा भएका फोहोरलाई संकलन गरी व्यवस्थापन गर्न थप दुई वटा ठुला बाल्टिन किनिएका छन् । जसलाई प्रत्येक कक्षा कोठामा राखिएका छन् र विद्यार्थीहरुले कक्षाकोठामा हुने फोहोरलाई बाल्टिमा राखेर कक्षाकोठालाई सफा राख्न थालेका छन् ।

'कक्षा कोठामा फोहोर फाल्ने बाल्टिन राखेपछि अहिले हाम्रो कक्षाकोठा पनि सफा भएको छ', कक्षा ८ मा अध्ययनरत मनिषा बोहराले भन्नुभयो, 'अहिले कोही कक्षाकोठामा आउँदा पनि हाम्रो कोठा सफा देखेर हाम्राे कामकाे प्रशंसा गर्नुहुन्छ ।'

पारस्परिक जवाफदेहिता कार्यक्रम अन्र्तगत गठन भएको रेडियो श्रोता समुहको पहलमा सुरु भएको विद्यालय सरसफाई अभियान अन्र्तगत निंगलासैनी माध्यामिक विद्यालयको कक्षाकोठाहरुमा डस्टबिन राखेको एक महिना हुन थाल्यो । अहिले विद्यार्थीहरुले प्रत्येक शुक्रबार सरसफाई कार्यक्रमको आयोजना गर्छन र आफ्नो कक्षाकोठामा भएको फोहोरलाई व्यवस्थापनको काम गरिरहेका छन् ।

'हामी अाफैले विद्यालयको फोहोर व्यवस्थापनको लागि पहल गर्र्यौं र सबैको सहयोग पनि पायौं', श्रोता समूहकी सदस्य रेजिना टेलरले भन्नुभयो, 'हामीले रेडियो श्रोता समूहमा उठाएको विद्यालयमा हुने फोहोर व्यवस्थापनको सवालले हाम्रो विद्यालयलाई सफा बनाएको छ ।'