सुशासनका लागि खाँडादेवी गाउँपालिकले सामाजिक जवाफदेहिताका औजारको प्रयोग गर्ने

Nov 29, 2018

रामेछाप जिल्लाकोे खाँडादेवी गाउँपालिकको ६ माकादुमले आफ्नो वडामा सुशासन प्रवद्र्धनका लागि सामाजिक जवाफदेहिताका औजारहरु प्रयोगमा ल्याउँने भएको छ ।

मानव अधिकार सचेतन तथा विकास केन्द्र (हुराडेक) नेपाल दोलखाले सञ्चालन गर्दै आएको पारस्परिक जवाफदेहिता परियोजना अन्र्तगत बुधबार आयोजित सुशासनका औजारहरुको व्यवहारिक प्रयोग विषयक अन्तरक्रिया कार्यक्रममा उक्त वडाका वडाध्यक्ष पुस्कर कार्कीले वडा स्तरमा सञ्चालित आयोजना तथा वडा कार्यालय मार्फत प्रवाह हुने सेवाको गुणस्तर वृद्धिका लागि सामाजिक जवाफदेहिताका औजारको प्रयोगलाई व्यापक बनाउँने प्रतिवद्धता जनाउनुभयो ।

सो अवसरमा वहाँले काम सँगै खबरदारी पनि आवश्यक पर्ने भएकोले नागरिक खबरदारीका लागि सार्वजनिक सुनुवाई, सार्वजनिक लेखापरीक्षण, सामाजिक परिक्षण जस्ता क्रियाकलाप सञ्चालनको लागि आफु प्रतिवद्ध रहेको वडाअध्यक्ष कार्कीले बताउनुभयाे । कार्कीले आफ्नो वडामा सञ्चालित पारस्परिक जवाफदेहिता परियोजनाले नागरिकको क्षमता विकासमा सहयोग पुर्याएको समेत बताउनुभयो ।



अन्तरक्रिया कार्यक्रममा स्थानीय तहले प्रयोगमा ल्याउन सक्ने सामाजिक जवाफदेहिताका औजारहरु सूचनाको हक, सार्वजनिक सुनुवाई, सार्वजनिक परिक्षण, सामुदायीक अंकपत्र, सार्वजनिक खर्चको लेखाजोखा, सामाजिक परिक्षणका बारेमा पारस्परिक जवाफदेहिता परियोजनाका क्षमता विकास विज्ञ कर्णबहादुर नेपालीले जानकारी गराउनुभएको थियो ।

नेपालीले सामाजिक जवाफदेहिताका औजारहरुको प्रयोगले नागरिक र सेवा प्रदायक संस्थाहरु बिचको सम्बन्धलाई सुधार गर्ने बताउनुभयो । सेवा प्रदायक निकायलाई पारदर्शि र जिम्मेबार बनाउने र नागरिकलाई पनि सचेत बनाउने भएकोले यसको प्रयोगमा जोड दिनु पर्ने नेपालीले बताउनुभयो ।

नागरिक समाज पारस्पारिक जावाफदेहीता परियोजना हुराडेक नेपाल दोलखाका परियोजना संयोजक शेरबहादुर भुजेलले माकादुमलाई सुशासनमैत्री वडा बनाउँन आग्रह गर्दै सामाजिक जवाफदेहिताका औजारले सुशासनमैत्री वडा निर्माणका लागि सहयोग पुग्ने बताउनुभयो । नमुना गाउँपालिका र नमुना वडा बनाउने अभियानमा परियोजनाले सहयोग गर्ने वहाँले बताउनुभयो ।