विपन्न परिवारको निःशुल्क स्वास्थ्य बिमा गर्दै रामपुर नगरपालिका

Nov 10, 2020

इमान सिं राना

पाल्पा, पाल्पाको रामपुर नगरपालिकाले नगर भित्रका अति विपन्न तथा दलित समुदायको निःशुल्क स्वास्थ्य बिमा गर्न सुरु गरेको छ । स्वास्थ्य सेवामा आम नागरिकको पहुँच सुनिश्चिताको लागि पालिकाले  जिपी (गिरीजा प्रसाद) कोईराला स्वास्थ्य कार्यक्रम मार्फत स्वास्थ्य बिमा गर्न थालेको हो ।

गत आर्थिक वर्ष २०७६/०७७ बाट बजेट विनियोजन गरी कार्य विधी तयार गरेर नगरपालिकाले बिमा सुरु गरेको हो । नगरपालिकाले पहिलो चरणका १ सय ८ परिवारको बिमा गरिदिएको छ । पूर्व प्रधानमन्त्री गिरीजा प्रसाद कोइरालाको स्मृतिमा स्वास्थ्य कार्यक्रम सञ्चालन गरी ‘स्वास्थ्य नै मूल आधार’ भन्ने नाराका साथ बिमा कार्यक्रम सञ्चालन गरेको हो 

पहिलो चरणमा बिमा समाहित भएका परिवारलाई बिहिबार एक कार्यक्रम गरी स्वास्थ्य बिमा कार्ड वितरण गरिएको छ । रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ऋषिराम आचार्यले पूर्व प्रधानमन्त्री गिरीजा प्रसाद कोईरालाको सम्मानमा नगरपालिकाले कार्यक्रम सञ्चालन गरेको बताउनु भयो । उहाँले नगर भित्रका १ सय ८ परिवारको ३ हजार ५ सयका दरले बिमा शुल्क तिरेर नगरपालिकाले बिमा गरिदिएको बताउनुभयो ।

रामपुर नगरपालिकाका नगरप्रमुख रमण बहादुर थापाले स्वास्थ्य बिमाको लागि गत वर्ष ५ लाख र यस वर्ष ५ लाख विनियोजन गरिएको बताउनुभयो । उहाँले स्वास्थ्य बिमा कार्यक्रममा संलग्न हुन नसकेका विपन्न घर परिवारलाई उपचार बाट वञ्चित हुन नदिनका लागि कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । साथै थापाले यस वर्ष नगर भित्रका दलित तथा विपन्न गरी ४ सय परिवारको स्वास्थ्य बिमा गर्ने कार्यक्रम रहेको बताउनुभयो ।

कार्यक्रममा स्वास्थ्य बिमा सहजकर्ता राम बहादुर रानाले स्वास्थ्य बिमा कार्डको प्रयोगका बारेमा जानकारी गराउनु भएको थियो । उहाँले पहिलो चरणमा लागु गरिएको बिमा मंसिर १ गते देखि आगामी कार्तिक १ सम्म मान्य हुने बताउनुभयो ।