महिला जनप्रतिनिधि भन्छन् ‘सिकाईमैं साढे २ वर्ष बिते’


सुर्खेत,  मंसिर ०३ 


सुर्खेत जिल्ला अन्तरगतका वीरेन्द्रनगर, भेरीगंगा र लेकबेसीका महिला जनप्रतिनिधिहरुले आफुहरु निर्वाचित भएको साढे २ वर्ष सिकाईमैं बितेको बताएका छन् ।

मंगलवार वीरेन्द्रनगरमा पारस्परिक जवाफदेहिता अन्तरर्गत इक्वेल एक्सेस इन्टरनेशनलले उत्पादन गर्ने साझाबोली रेडियो कार्यक्रमका लागि गरिएको छलफलमा महिला जनप्रतिनिधिहरुले यस्तो बताएका हुन । ‘पहिला हामीलाई केहि थाहा थिएन दलितको कोटाबाट चुनावमा उठें अनि बिजयी पनि भएँ ।’ भेरीगंगा नगरपालिका वडा–१३ की वडा सदस्य देवीसरा नेपालीले भनिन्’ साढे दुईवर्ष त सिकाईमै गयो, अबका दिनहरुमा हामीले समग्र महिला र समाजका लागि आवश्यक पर्ने कार्यक्रमहरु ल्याउन पहल गर्ने छौं ।


जिल्ला समन्वय समिति सुर्खेतकी सदस्य पुर्णा चालिसेले सरकारले आफुहरुलाई नाममा मात्रै समन्वय राखेर अधिकार नदिएको गुनासो गरिन् । ‘सरकारले जिल्ला समन्वय समितिलाई समन्वय र अनुगमन गर्ने क्षेत्राधिकार भएपनि प्रमुख र उपप्रमुख मात्र विभिन्न कार्यक्रममा जान्छन् हामीलाई त गाउँको साधारण मानीसको जत्तिको पनि मान्यता हुदैन ।’ उनले भनिन्ः 'अधिकार बिनाको प्रतिनिधि बनाएकोले जुन उर्जाका साथ निर्वाचित भएको हो त्यो पुरा हुन सकेन ।'

 
त्यस्तै वीरेन्द्रनगर नगरपालीका–३ की वडा सदस्य तथा न्यायीक समिति सदस्य रामकुमारी थापाले आफु निर्वाचित भइसकेपछि समाजमा महिला माथि हुने हिंसाका बारेमा वकालत गदै आएको बताइन् । उनले महिलाहरुका लागि नगरपालिकाले ल्याउने स्वरोजगारुका कार्यक्रममा आफ्नो वडाका गरीव, दलित, लोपउन्मुख जातीका महिलाहरुलाई सहभागि गराउने गरेको बताइन् ।


महिला जनप्रतिनिधिहरुको अशिक्षाका कारण नगरपालिकामा एकलौटी निर्णय हुने गरेको वीरेन्द्रनगर –३ की वडा सदस्य रमिला सोनीले गुनासो गरिन् । केहि घरायसी जिम्मेवारी र राजनीतिक ज्ञानबाट टाढा रहेका कारण पनि महिला जनप्रतिनिधिहरू समस्यामा पर्ने गरेको लेकवेसी नगरपालिका–६ की कार्यपालिका सदस्य तुलीसरा रानाले बताइन् । नागरिक समाजकी पार्वती गिरीले सबै महिला जनप्रतिनिधिको क्षमता अभिवृद्धि गरी संवैधानिक अधिकारको सदुपयोग गर्न सुझाव दिइन् ।


छलफलमा उनीहरूले महिलामैत्री समाज निर्माण गर्न अझै चुनौती रहेको बताएका छन् । कानुनी रूपमा प्राप्त अधिकार व्यवहारमा उपयोग गर्न कठिन भएको गुनासो रहेको भन्दै महिलाका लागि व्यवस्था भएका कानुनी प्रावधानलाई व्यवहारमै लागू गर्न स्थानीयदेखि केन्द्रसम्म ध्यानआर्कषण समेत गरेका छन् । रेडियो छलफल कार्यक्रममा जिल्लाका तिन स्थानीय तहका निर्वाचित महिला जनप्रतिनिधिहरूले आजसम्म काम गर्दाका अनुभवहरू, समस्याहरु साटासाट गरेका थिए ।