नगरपालिकाको सार्वजनिक सुनुवाई सम्पन्नः जवाफदेहि सरकार बन्दै स्थानीय तह

Nov 17, 2019

सरस्वती वानिया, मंशीर १ ओखलढुंगा ।

सिद्धिचरण नगरपालिका ओखलढुंगाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । नगरपालिकाले आर्थिक वर्ष २०७६।०७७ को पहिलो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न गरेको हो । सिद्धिचरण नगरपालिकाको वडा नं. ८ को कार्यालय सल्लेरीमा कार्यक्रमको आयोजना गरेको हो ।

नगरपालिकाका वडा नं. ८ र १० लाई लक्षित गरेर सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रमका सहभागीहरुले यस्ता सार्वजनिक सुनुवाई कार्यक्रमलाई नगरपालिकाले प्रत्येक वडामा सञ्चालन गर्नुपर्ने माग गरेका थिए । कार्यक्रममा सिद्धिचरण नगरपालिकाका प्रमुख मोहन कुमार श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी गणेश आचार्य, प्रमुख प्रशासकिय अधिकृत भोजराज खतिवडा, राष्ट्रिय पुननिर्माण प्राधिकरण ओखलढुङ्गाका प्रमुख युवराज खरेल, वडा अध्यक्ष हेम बहादुर तामाङ  लगायतको जवाफदेही बक्ताको रुपमा सहभागीता रहेको थियो ।

सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागीहरुले बेतिनीमा योजना उपभोक्ता समिति निर्माण गर्दा जनसहभागीता नभएको, १ करोडको खानेपानी योजना सञ्चालन गर्दा एकदिन पनि उपभोक्तासग छलफल नभएको, खानेपानी योजना सञ्चालन गर्दा प्रयोग गरेको सामाग्री गुणस्तरहिन भएको बताएका थिए ।

त्यस्तै नगरपालिकाले विनियोजन गरेको लक्षित वर्गको बजेट कहाँ कसरी खर्च भयो भनेर सार्वजनिक गर्नुपर्ने, नगरपालिकाले सञ्चालन गरेको गरिबलाई टिनको छाना कार्यक्रम सञ्चालन गर्दा घरको साईज अनुसारको जस्तापाता उपलब्ध नहुदा घरमा जस्तापाता आएर पनि घर छाउन नसकेको, एउटै कृषक समूहले मात्रै पटक पटक अनुदानको व्यबस्था गरिएको, योजना सञ्चालन हुदा डुब्लीकेसन भएको भन्दै आवश्यक अनुसन्धान तथा कार्बाहीको लागि माग गरेका थिए ।

त्यसैगरि सामुदायीक विद्यालयका लागि विनियोजन गरिएको कम्प्युटर शिक्षाको बजेटबाट विद्यालयमा आउनुपर्ने सबै प्रकारको सामाग्रीहरु उपलब्ध नभएको भन्दै त्यसको लागि नगरपालिकाले आवश्यक अनुगमन गरी कार्बाही प्रकृया अगाडी बढाउनुर्पे, नगरपालिकाको वडामा केन्द्रिय विद्युत प्रसारण लाईन वितरण गर्नको लागि नगरपालिकाले १४ लाख बजेट विनियोजन गरेकोमा नेपाल विद्युत प्राधिकरण ओखलढुंगा शाखाले समेत सोही योजनालाई देखाएर अरु रकम हिनामिना गरेको भन्दै त्यसको आवश्यक अनुगमन तथा कार्बाही गर्न माग गरेका थिए । भूकम्प पश्चात ढलेका घरहरु चाही आंशीकमा परेको तर केही नभएका घर भने पूर्ण क्षतिमा परेको भन्दै त्यसवारेमा आवश्यक सम्बोधन गर्नका लागि समेत माग गरे ।

सार्बजनिक सुनुवाई कार्यक्रममा उठेका प्रश्नहरुको बारेमा मञ्चमा उपस्थिती रहनुभएका बक्ताहरुले सम्बोधन गर्नुभएको थियो । प्रश्नको सम्बोधन गर्दै सरोकारवाला प्रमुखहरुले कार्यक्रममा उठान भएका कतिपय विषयहरु उजुरीको रुपमा समेत आफुले लिएको, केहीदिन भित्रै सम्बन्धित क्षेत्रमा अनुगमन गर्ने, नागरिकहरुको माग बमोजिम नै प्रत्येक वडामा सार्वजनिक सुनुवाई कार्यक्रम सञ्चालनका लागि पहल गर्ने जस्ता प्रतिबद्धता जनाउनुभएको थियो ।

पहिला पहिला प्रत्येक गाविसमा सार्वजनिक सुनुवाई हुने गरेको भएपनि संघिय संरचनाको निर्माण पश्चात स्थानीय उपभोक्ताहरुको माझमा रहेर नागरिकहरुको गुनासोका लागि सम्बोधन गर्न सार्वजनिक सुनुवाई गर्ने अभ्यासमा कमी हुदै आएको छ । सिद्धिचरण नगरपालिकाले एक आर्थिक वर्षमा १२ ओटै वडाहरुलाई समेटेर एकवर्षमा ३ स्थानमा मात्र सार्वजनिक सुनुवाई गर्ने गरेको छ । यस आर्थिक वर्षमा नगरपालिकाले आयोजना गरेको यो सार्वजनिक सुनुवाई पहिलो हो ।