सिद्धिचरण नगरपालिकामा थप सुविधा सम्पन्न क्वारेन्टाइन स्थल बनाईने

Jun 6, 2020

सरस्वती वानिया । ओखलढुंगा । ओखलढुंगाको सिद्धिचरण नगरपालिका भित्र थप सुविधा सम्पन्न क्वारेन्टाइन स्थल बनाइने भएको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरसको संक्रमणको जोखिमलाई मध्यनजर गर्दै नगरपालिका भित्र थप क्वारेन्टाइन बनाइने भएको हो ।

सिद्धिचरण नगरपालिकाको वडा नं ४ रुम्जाटारमा रहेको रुम्जाटार माध्यमिक विद्यालयको नवनिर्मीत भवनमा थप ५० बेडको क्वारेन्टाइन निर्माण गर्ने तयारी थालिएको छ । छिमेकी मुलुक भारत लगायत कोरोना संक्रमित राष्ट्रहरुवाट नगरपालिका भित्रनेहरुलाई लक्षित गरि क्वारेन्टिन कक्षको विस्तार गर्न लागिएको नगरपालिकाले जनाएको छ ।

नव निर्मित विद्यालय भवनको भौतिक संरचना समेत राम्रो भएकोले क्वारेन्टाईन पनि सबै वर्गलाई सहज हुने खालको बनाईने सिद्धिचरण नगरपालिकाका प्रमुख मोहन कुमार श्रेष्ठले  बताउनुभयो । नवनिर्मित विद्यालय भवनमा पानी र शौचालयको समेत राम्रो व्यवस्था भएको भन्दै क्वारेन्टाइन स्थल महिला, बालबालिका र अपागंता भएका वर्गका लागि विशेष सहज हुने गरि बनाइने प्रमुख श्रेष्ठको भनाई छ । क्वारेन्टाइन स्थलको सुरक्षार्थको लागि नेपाली सेनालाई अनुरोध गर्ने पनि नगरप्रमुख श्रेष्ठले बताउनुभयो ।

नयाँ निर्माण हुने क्वारेन्टाइनका लागि आवश्यक पर्ने खाद्यान्नको व्यवस्थापन सिद्धिचरण नगरपालिकाले गर्ने बताइएको छ । त्यस्तै क्वारेन्टाइन स्थलमा आवश्यक पर्ने लत्ता कपडा लगायतका स्वास्थ्य सामाग्रीहरुको व्यवस्थापन भने जिल्ला विपद व्यवस्थापन समिति मार्फत जिल्ला प्रशासन कार्यालय र जिल्ला स्वास्थ्य कार्यालयले उपलब्ध गराउने भएको छ ।

भारत तथा अन्य मुलुकबाट नगरपालिका भित्र आउने नागरिकहरुको स्वास्थ्य परिक्षण गरि उक्त क्वारेन्टाइनमा राखिने नगरप्रमुख श्रेष्ठले बताउनुभएको छ । यस अगाडी नगरपालिकाको वडा नं. १२ मा रहेको ओखलढुंगा क्याम्पस भवनमा मात्रै क्वारेन्टिन कक्ष रहेको थियो । त्यस्तै सगरमाथा जनता माद्यमिक विद्यालयलाई क्वारेन्टिनको रुपमा प्रयोग गर्ने तयारी गरिएको भएपनि प्रयोग भने गरिएको थिएन ।