जाजरकोटमा कहिले रोकिएला बाल विवाह?

तिम्रो नाम के हो? उनले लजाउँदै मसिनो स्वरमा भनिन ‘भुमिका’ । आहा ! कति राम्रो नाम, तिम्रो घर कहाँ हो?– रिसाङ्ग । मेरो जन्मघर पनि रिसाङ्ग नै भएकोले मैले उनलाई कसको छोरी भनेर सोधेँ । ‘चन्द्रबहादुर रोकायको छोरी हुँ । बुवा विदेश जानु भा'छ । आमा शान्तिचौतारामा होटल गर्नुहुन्छ अचेल म आमा सँगै यतै बस्छु’ उनले भनिन ।

त्रिभुवन मावि खलंगामा यो शैक्षिक सत्रको कक्षा शुरु भएको केही हप्तापछि अर्थात बैशाखको अन्तिम सातातिर पहिलो पटक उनलाई मैले ७ कक्षामा देखको थिएँ । मेरो पहिलो पिरियड सात कक्षामा रहेकाले त्यस कक्षाका प्रायः सवै विद्यार्थीलाई चिन्ने गरी सवाल जवाफ गर्छु ।

उनको उमेर १२ बर्षको भयो । उनी बोल्नमा फरवार्ड थिईन । जव हाजिर गर्न थालेँ । हाजिरी रजिष्टरमा उनको नाम भीमी रहेछ । उनलाई परिवारले भीमी राखिदिएका रहेछन् । जन्मदर्तादेखि अन्य शैक्षिक प्रमाणपत्रमा पनि त्यही नाम स्थापित भैसकेको रहेछ । उनी आफ्नो वास्तिविक नाम भन्न लजाएको थाह पाएर तिमीलाई भीमी नाम राम्रो लाग्दैन र भुमिका नै बनाउन चाहन्छ्यौ भने आमालाई लिएर आउनु नगरपालिकामा जन्मदर्तामा नाम सच्याउन मिल्छ । आठ कक्षाको फारम भर्नुअघि नै यो काम गर्न सकिन्छ भनेर सुझाए । तर उनको कुरा आमाले नसुनेकाले त्यत्तिकै ओझेल पर्यो ।

उनी नियमित विद्यालय आउँथिन । तर उनको पढाई खासै राम्रो थिएन । पढाई भन्दा अन्य कुरामा बढी चासो दिने गर्थिन। विद्यालय जाँदै थिएँ, एकदिन तत्कालिन जिल्ला शिक्षा अधिकारी ललित विक्रम सिंहसंग बाटोमा भेट भयो । उहाँले रेखा थापा र नरबहादुर कार्कीले निर्माण गर्न लागेको बालविवाह न्युनिकरण सम्बन्धि मालिका फिल्मको सुटिङ्ग जाजरकोट दरबारमा हुँदैछ, त्यहाँ नाच्ने कम्तिमा ७० जना केटीहरु तयार गरिदिनु भन्ने खबर आएको छ । सहयोग गरिदिनु पर्‍यो सर भनेर भन्नु भयो ।

उहाँकै आग्रह अनुसार मैले ८ कक्षा माथिका छात्राहरुलाई मालिका फिल्ममा साईड डान्स गर्ने इच्छा भएकाहरुले मसंग सम्पर्क राख्न आग्रह गरे । फिल्ममा नाच्न, जति तल्लो कक्षाका लालायित र उत्साहित देखिए त्यति माथिल्लो कक्षाका देखिएनन् । तल्ला कक्षाका छात्राहरुले नाचका लागि आफ्नो नाम सिफारिस गरिदिन निकै आग्रह गरे । त्यसमध्येकी एक तिनै सात कक्षामा अध्ययनरत भीमी रोकाय पनि थिईन । शुरुमा तिमी सानै छौ तिम्रो हाईट पुग्दैन भनेर टारेँ तर निकै जिद्धि गरेपछि उनको पनि नाम सिफारिस दिएँ । उनी गईन, नाचिन ।

त्यसको केहिदिन पछिसम्म मैले उनलाई विद्यालयमा देखिन । केही दिन त सुटिङ्गले गर्दा आउन सकिनन् होला भन्ठानेँ तर सबै विद्यार्थी नियमित विद्यालय आउन थालेपछि पनि उनलाई नदेख्दा मैले भीमी आउँदिनन् त खोई कहाँ गएकी छिन? भनेर सोधेँ । विद्यार्थीबाट जवाफ आयो ‘भीमीले त विहे गरेर गई सर ।’ काँहा गई, कसरी गई भनेर मैले फेरी सोधेँ । उनको होटलमा गाडीका स्टाफले खान खान्थे । जुम्ला घर भएको एक जना स्टाफले लगेर गयो भनेर एक जना विद्यार्थीले कुरा खुलस्त पारिदियो । भीमीलाई लिने चालक हो वा सहचालक त्यो भने पत्ता लाग्न सकेन ।

मलाई यो घटनाले निकै छोयो । खासमा उसको भविश्य के होला? के त्यो बाल विवाह दिर्घकालसम्म टिक्ला? उनले पढ्न पाउलिन्? केटो कत्तिको इमान्दार छ? केटो ईमान्दार होला तर उसको स्वास्थ्य? उ गर्भवति भई भने अवस्था के होला? उता तिनै छोराछोरीको भविश्यको लागी खाडीको चर्को गर्मीमा पसिना चुहाई रहेको बुवाले के सोचेका होलान ! यस्तै यस्तै कुराले मलाई अहिलेसम्म घोचिरहन्छ । मेरो विद्यार्थीलाई मैले बालविवाह बारे बुझाउन नसकेकोमा समेत आत्मग्लानी छ ।

७ कक्षामा पढ्दा पढ्दै १२ बर्षको उमेरमै विहे भएको एक्काईसौ शताब्दीको यो लाजमर्दो घटनाको जिम्मेवारी मेरा भागमा कति पर्छ त्यो लिन म तयार छु । मैले गल्ती महसुस गरेको कुरा भावना ब्यक्त गरेर मात्र यो कुरा न्युनिकरण हुन सक्दैन भन्ने कुरा थाह छ तर विडम्बना हाम्रो सोच, संस्कार र जीवन पद्धति नै त्यसरी अघि बढिरहेको छ ।

हाम्रो विद्यालयमा पढाउने दुई जना बेलायती स्वयंसेवी शिक्षक छन् । उनीहरुको उमेर अहिले १९ र २० बर्षको छ । पढाई नसक्दासम्म र आफ्नो खुट्टामा नउँभिदासम्म उनीहरु विवाह गर्ने कुरा कल्पना पनि गर्दैनन् । केही नेपाली युवायुवतीमा यस्तै प्रकारको सोच नभएको भने पक्कै होईन तर आमरुपमा हेर्दा त्यस्तो देखिँदैन । ति वेलायती स्वयंसेवी शिक्षक ग्रेफ मार्टिनका दाई केहिदिन अघि नेपाल घुम्न आएका छन् । उनले एक जना महिला साथी पनि सँगै लिएर आएका छन् ।

त्यो उनीहरुको देशको लागी सामान्य हो । केटाकेटीहरु मन लागेको ठाँउमा र मन लागेको मान्छेसंग निर्धक्क भएर घुम्न सक्छन् । यद्यपी हामी कहाँ एकजना महिला जो पुरुषसंग त्यो पनि विदेश घुम्न जाने भन्ने कुरा त कल्पना बाहिरको कुरा हो । कुनै केटी मान्छे कुनै एकजना केटा मान्छे सँगै हिडेको, गफ गरेको देख्दा कुरा काट्ने समाजले अर्को देश घुम्न जाने कुरा स्विकार्य हुनै सक्दैन । हाम्रो समाजको यथार्थ यही हो । उनीहरु सँगै घुम्छन, मनोरञ्जन गर्छन, मन मिले सुरक्षित यौन सम्पर्क पनि गर्छन त्यो कुरालाई घरपरिवार र समाजले समान्य रुपमा लिन्छन । त्यहि भएर बालविवाह नै हुँदैन । बालविवाह हुने कुरामा यस्तै स्वतन्त्रताको नियन्त्रण पनि बाधक हो जस्तो लाग्छ ।

बालविवाह न्युनिकरण सम्बन्धि फिल्ममा सुटिङ्ग भैरहेकै बेला साँचिकै बालविवाह हुनु यो संयोग मात्र वा नियति वा नियमित प्रक्रिया । भीमी जस्तै उमेर नपुग्दै धेरै स्कुले छात्राहरुको विवाह हुने क्रम अहिले पनि रोकिएको छैन । बाल विवाह न्युनिकरणका लागी गरिएका प्रयासहरु सार्थक हुन सकिरहेका छैनन् । यस्तो अवस्थामा वालविवाह न्युनिकरणमा सहयोग पुग्ने दाबीका साथ सुटिङ्ग भैरहेको मालिकाले साँचिकै मानिसहरुका मन मस्तिष्कमा सकारात्मक प्रभाव पार्ला? यो भविश्यमा समिक्षाको विषय होला नै ।

यसैवीचमा केही दिन अघि पाँच तारा युवा संरक्षक मञ्चको २१ औ साधारण सभाले यो बर्षलाई बालविवाह न्युनिकरण बर्षको रुपमा मनाउने निर्णय गरेको छ । विभिन्न स्थानीय तहको हालै सार्वजनिक गरिएको निति तथा कार्यक्रममा पनि बालविवाह न्युनिकरणका लागी आवश्यक जनचेतना जगाउने खालका कार्यक्रम समेटिएको छ ।

सवै पक्षले बालविवाह न्युनिकरण गर्ने कुरालाई अभियानकै रुपमा संचालन गर्न सक्ने हो भने पक्कै पनि बालविवाह घटाउन सकिन्छ । घरेलु हिंसा, बहुविवाह, उच्च मातृ मृत्युदर, उच्च बाल मृत्युदर हुने कुरा पनि बालविवाहसंग जोडिएको कुरा हामीले अँझै बुझाउन सकेनौँ । अरु मान्छेले बुझाउनु भन्दा पहिलो पाठशाला भनेकै घर हो घरमै त्यस प्रकारको शिक्षा दिन सकियो भने पक्कै पनि बाल विवाह न्युनिकरण संभव छ ।

अर्को कुरा हाम्रो विद्यालय तहको पाठ्यक्रममा केही मात्रामा बालविवाह बारे विषयवस्तु राखिए पनि सतही मात्र देखिन्छ । बालविवाहको सामाजिक असर, स्वास्थ्य , शिक्षा र रोजगारीमा पर्ने प्रभाव आदि बारे गहन रुपमा पाठयक्रममा समेटिनु आवश्यक छ । २०६८ सालको जनगनणा अनुसार जाजरकोटमा १९ बर्ष नपुग्दै ७४ प्रतिशतको विवाह हुने गरेको छ । एक तथ्यांक अनुसार जिल्लामा प्रजनन् उमेरका ४७ प्रतिशत महिलामा पाठेघर खस्ने समस्या छ ।

यस्तो डर लाग्दो तथ्यांक आउनुको मुख्य कारक तत्व भनेकै बालविवाह हो । जाजरकोटका अधिकांश महिलाहरु सानैमा विहे गर्दा विवाह गर्ने उमेरमा बुढ्यौलीले छोप्न थालिसकेको पाईन्छ । किशोर अवस्थाको यौवन र शारीरिक आर्कषणलाई ब्यवस्थापन गर्न नसक्दा उमेर नपुग्दै विवाह हुने गरेको छ । विपरीत लिङ्गका केटाकेटीले सँगतै गर्न नहुने खालको समेत संस्कार विद्यमान छ । फलाना कि छोरी त विग्रि फलानासंग हिडेकी छ भनेर कुरा काट्ने प्रचलनले पनि केटीहरु सामाजिक रुपमा जोगिनका लागि समेत विकल्पको रुपमा विहेवारी रोज्न बाध्य हुन्छन् ।
बालविवाह सम्बन्धि ऐन कानुन नभएका पनि होइनन् तर कानुन कार्यान्वयनको कुरामा समाज र संस्कृति नै बाधक भैरहेको छ । यस तर्फ राज्यका निकाय पनि गंभिर हुन जरुरी छ । हाम्रो सोच व्यहार र संस्कारमा परिवर्तन आवश्यक छ ।