रुद्राक्ष खेतीबाट राम्रो आम्दानी

Nov 27, 2018

कल्पना बोहरा

अछाम, मंसिर ११ 

अछामको मंगलसेन नगरपालिका वडा नं ४ का भ्वानसिंह धामी रुद्रराक्षबाट बार्षिक लाखौ रुपैयाँ बराबरकाे आम्दानी गर्दै आएका छन । २०५८ सालबाट रुद्रराक्ष खेती गर्दै आएका धामीले अहिले बार्षिक २ लाख  रुपैयाँसम्म आम्दानी गर्ने गरेको बताए ।

२०५८ सालमा पोखराबाट ६ सय रुपैयाँमा किनेर १ बोट रुद्राक्ष ल्यायर आफ्नो बारीमा परीक्षणका लागी रोपेको र सो बोटाले राम्रो फल दिन थालेपछि हौसिएर  आफ्नो बारीमा २५ बोटा रुद्राक्ष लगाएकाे उनले बताए । अहिले आफ्नो बारीका २५ ओटै बोटले फल दिने गरेकाे उनले बताए ।

२ बर्षअघि अनको बारीमा फलेको १६ मुखे १ दाना रुद्राक्षलाई ३० हजार रुपैयामा बेचेको उनले बताए ।  बोटमा राम्रो दाना फलेपछि एकै दानाबाट हजारौ कमाई हुने भएपनस राम्रो र महंँगो दानालाई सुगा, चमेरो जस्ता चराहरुले बोटमा नराख्ने धामीले बताए ।

२०३६ सालबाट अस्थायी शिक्षकको जागिर खाएका धामीले २०४६ सालमा जागिर सकिएपछि गाँउ नजिकै चिया पसल चलाएर छोराछोरीलाई पढाउनका साथै घरपरिवारको लालनपालन गर्दै आएका थिए । गाउँमा संचालन गरेको चिया पसलबाट राम्रो आम्दानी नभएपछि चिया पसल छाडेर रुद्राराक्ष खेतीमा लागेको उनले बताए ।

गाँउघरमा लाग्ने पुजाआजा तथा पुराणमा रुद्राक्ष चाहिने भएपनि जिल्लामा नहुँदा बाहिरबाट ल्याउनु पर्नेहुँदा आफुले राम्रो आम्दानी हुने देखेर यो पेशा अंगालेको र अहिले सामान्य दानाबाट बनेको १ मालाको १ सय रुपयाँमा बिक्रि गर्दै आईरहेको उनले बताए । अहिले अनले सदरमुकाम मंगलसेनमा किराँतेश्वर रुद्राक्ष भण्डार नामक पसल चलाएर रुद्राक्षको ब्यापार गर्दै आएका छन ।

रुद्राक्षको खेती गर्न चाहानेहरुलाई रुद्राक्षका बिरुवा उपलब्धका साथै यो खेतीका बारेमा परामर्श लिन चाहानेहरुका लागी आफु सहयोग गर्ने उनले बताए । सदरमुकाममा रहेको मंगलसेन नगरपालिकाले जिल्ला बाहिरबाट आउने पाहुनाहरुलाई खादाको सट्टा रुद्राक्ष मालाले स्वागत गर्ने गरेकाले पनी अहिले उनको ब्यापार रामै चलेको छ ।

जिल्लामा मात्रै नभएर राजधानी काठमाण्डौदेखि भारतसम्म आफुले उत्पादन गरेका रुद्राक्ष बिक्रि गर्दै आएको उनको भनाई रहेको छ । आफु मात्रै नभई उनले जिल्लामा २ सय ५० भन्दा बढी रुद्राक्षका बोट बिक्री गरेका छन । अछाम जिल्लालाई रुद्राक्षको जिल्ला भनेर चिनाउने आफ्नो धोको रहेको भन्दै जिल्लामा मात्रै नभई सुदुरपश्चिम प्रदेशमै रुद्राक्ष खेती गर्ने आफु पहिलो किसान भएको दाबी समेत उनको रहेको छ । धर्मकर्ममा बढी बिश्वास गर्ने उनले शिव पुराण र भागवत गिताको अध्यायनबाट आफुलाई रुद्राक्ष खेती गर्न प्रेरणा मिलेको बताए । उनले पसलमा अहिले ५४ दानाको मालाको ५० रुपयाँ र १०८ दानाको रुद्राक्ष मालाको १ सय देखि २ हजार रुपैयाँ सम्ममा बेच्ने गरेकोे बताए ।

अछाम जिल्लामा आउने प्राय सबैले जिल्लाबाट नासोको रुपमा अहिले रुद्राक्ष माला किनेर लैजाने गरेकाले आफ्नो ब्यापार फष्टाउनका साथै जिल्लाको नाम पनी चिनिने गरेकाले आफुलाई खुसी महशुस हुने गरेको धामीले बताए । उनको रुद्राक्ष खेती देखेर मंगलसेन नगरपालिका वडा नं ४ ले एक घर एक बोट रुद्राक्ष कार्यक्रम ल्याएको वडाध्यक्ष पदमबहादुर धामीले बताए । देशमा रोजगारी छैन भन्दै दैनिक बिदेश पलायन हुने युवाहरुलाई घरमै बसेर यस्तै कृषिपेशामा लागेर स्वरोजगार बन्न प्रेरणा मिलोस भनेर यस्तो कार्यक्रम ल्याएको वडाध्यक्ष धामीको भनाई छ ।