३१ हजार भन्दा बढीले गरे स्वास्थ्य बीमा

Sep 5, 2018

बुद्ध नेपाली

सिन्धुली, भदौं २०

सिन्धुलीमा स्वास्थ्य बीमा कार्यक्रम लागु भएको ११ महिनामा ३१ हजार भन्दा बढीले स्वास्थ्य बीमा गरेका छन् । गत आर्थिक वर्ष २०७४ साल असोजदेखि लागु भएको स्वास्थ्य बीमा कार्यक्रममा जिल्लाका नौ ओटा स्थानीय तहका ३१ हजार ४ सय २५ जनाले स्वास्थ्य बीमा गरेका स्वास्थ्य बीमा बोर्ड सिन्धुलीले जनाएको छ ।

दुई नगरपालिका र सात गाउँपालिकासहित नौ ओटा स्थानीय तह रहेको सिन्धुलीमा २ हजार ८ सय ४४ घर परिवारका ३१ हजार ४ सय २५ जना सदस्यहरुले स्वास्थ्य बीमा गरेको स्वास्थ्य विमा बोर्ड सिन्धुलीका निमित्त जिल्ला प्रबन्धक रमेशकुमार घिमिरेले जानकारी दिनुभयाे ।

उहाँका अनुसार सिन्धुलीमा पुरुषले भन्दा महिलाहरुले केही बढी मात्रामा बीमा गराउने गरेका छन् । ११ महिनाको अवधीमा १६ हजार २ सय ७४ महिलाहरुले स्वास्थ्य बीमा गरेका छन् भने १५ हजार २ सय ५४ जना पुरुषले स्वास्थ्य बीमा गरेका छन् ।
सरकारले वितरण गरेको गरिव घर परिवार परिचय पत्रमा अति गरिवमा परेका ३ हजार २ सय २७ घर परिवारका सदस्यहरुको समेत निःशुल्क बीमा गरिएको प्रबन्धक घिमिरले बताएका छन् ।

कार्यालयको तथ्याँङ अनुसार जिल्लाका नौ स्थानीय तह मध्ये हरिहरपुरगढी गाउँपालिका र घ्याङलेख गाउँपालिकामा भने स्वास्थ्य बीमा गराउनेको संख्या न्युन गरेको छ । जिल्लाका अन्य नगरपालिका तथा गाउँपालिकाहरुको तुलनामा यी दुई गाउँपालिका भौगोलिक रुपमा विकट र जनतामा स्वास्थ्य बीमा बारेमा सचेतना कम भएकाले पनि उल्लेख्य रुपमा स्वास्थ्य बीमा कम भएको प्रबन्धक घिमिरेले बताए ।

हरिहरपुरगढी गाउपालिकामा ४९५, घ्याङलेख गाउँपालिकामा ४८७, कमलामाई नगरपालिकामा ६१२२, दुधौली नगरपालिकामा ६९३०, तिनपाटन गाउँपालिकामा ६११० जनाले स्वास्थ्य बीमा गरेका छन् ।

त्यस्तै सुनकोशी गाउपालिकामा २५७४, गोलन्जोर गाउँपालिकामा १३४२, फिक्कल गाउपालिका २४४३ र मरिण गाउपालिकामा ४५२२ जनाले स्वास्थ्य बीमा गरेका प्रबन्धक घिमिरेले बताए ।

५ जना सम्मको परिवारले बार्षिक रुपमा प्रति परिवार २५ सय रुपैयाँ तिर्नुपर्छ भने परिवारमा ५ जना भन्दा बढी सदस्य भए प्रति थप सदस्यले ४२५ रुपैयाँका दरले थप रकम तिरेर बीमा गर्न सक्ने व्यवस्था छ ।

बीमा गर्ने विमितले सिन्धुली अस्पताल सिन्धुली, कपिलाकोट प्राथमिक स्वास्थ्य चौकी, बेलगारी प्राथमिक स्वास्थ्य चौकी, सिर्थौली प्राथमिक स्वास्थ्य चौकी र लाम्पानटार प्राथमिक स्वास्थ्य चौकीबाट सेवा लिन सक्ने प्रबन्धक घिमिरेको भनाई छ ।

जिल्लाका स्वास्थ्य संस्था बाहेक धुलिखेल अस्पताल, कटारी अस्पताल उदयपुर, कोरियामैत्री नेपाल अस्पताल, भक्तपुर लगायतका अस्पतालबाट सेवा लिन सक्ने प्रबन्धक घिमिरेले बताउँनु भयाे ।

जिल्लामा स्वास्थ्य बीमा गराउनेक्रम विस्तारै वृद्धि हुदै गएपनि जटिल रोगको उपचार जिल्लामा स्वास्थ्य बीमा बोर्डसँग सम्झौता भएका स्वास्थ्य संस्थामा उपचार नहुदाँ विमितमा केही निरासा देखिएको प्रबन्धक घिमिरेको भनाई छ ।

सरकारले दिने निःशुल्क औषधी समेत स्वास्थ्य संस्थाले नियमित उपलब्ध गराउन नसक्दा त्यसको असर स्वास्थ्य बीमामा परेको प्रबन्धक घिमिरेले जनाए ।