चर्पी सफा गनुपर्ने डरले विदेश नगएका बोहोरा गाउँमै कमाउँछन् वर्षमा ५ लाख

Feb 12, 2019

आशिष मल्ल
डडेल्धुरा माघ २९ – अमरगढी नगरपालिका ३ का महेशराज बोहरा कृषि व्यवसायमा लागेको ५ वर्ष भयो । उनले ८ रोपनी जमिन भाडामा लिएर कुखुरापालन, तरकारी खेती र माछापालन गर्दै आएका छन् । कुखुरा, माछा र तरकारी बिक्री गरेर एक वर्षमा पाँच लाख भन्दा बढी आम्दानी गर्छन् ।

गाउँमै कृषि व्यवसाय गर्नुअघि बोहराले दुई पटक विदेश जाने प्रयास पनि गरे। तर विदेशमा चित्तबुझ्दो काम नपाइने थाहा पाएपछि आफ्नै गाउँमा केही गर्ने सोँच बनाए । ६ वर्षअघि विदेश जान राहदानी (पासपोर्ट) बनाएर केही म्यानपावर समेत धाएका उनी अहिले कृषि पेशामा लागेर विदेशमा भन्दा राम्रो आम्दानी गर्न सफल छन् । २०६१ सालमा डडेल्धुरा सदरमुकामको महेन्द्र उच्च माविबाट एसएलसी पास गरेका बोहराले उच्च मावि पनि त्यहीँ पढे। तर घरायसी कारणले पढाइ अघि बढाउन सकेनन् ।

पढाइ छाडेर घरकै काममा व्यस्त भए । घरमा कृषि पेशा गरेर गुजारा नचल्ने देखेपछि उनले विदेश जाने सोँच बनाए । विदेश जान भनेर उनले काठमाडौंको म्यानपावरमा पासपोर्ट बुझाए र अन्तर्वार्ता पनि दिए । अन्तर्वार्ताकै क्रममा विदेशमा गर्नुपर्ने कामबारे थाहा पाएपछि उनलाई जान मन लागेन ।’ विदेश जाने भनेर दुई चोटी काठमाडौं गएर अन्तर्वार्ता दिएँ’ बोहराले भने,’ विदेशमा गएर चर्पी पनि सफा गर्नुपर्छ भन्ने थाहा पाएपछि मेरो मानसिकता परिर्वतन भयो ।’ विदेशमा गएर शौचालय सफा गर्नु भन्दा आफ्नै माटोमा केही गर्ने अठोट लिएर डडेल्धुरा फर्किए ।

काठमाडौं आउँदा जाँदा उनले चितवनमा कुखुरा फार्म देखेका थिए । काठमाडौंबाट डडेल्धुरा फर्किँदा एक पटक त्यसबारे बुझ्ने इच्छा भयो । ‘त्यहाँ कुखुरा पालेर आफ्नै देशमा धेरै आम्दानी गरेको देखेँ, चितवनका मन्छेले गर्न सक्छन् भने मैले किन सक्दिन जस्तो लाग्यो,’ बोहराले भने, ’मैले यो कुखुरापालन गर्ने प्रेरणा चितवनबाट पाएको हुँ ।’ त्यसपछि २०७० सालदेखि उनले कुखुरापालन नै सुरु गरे। व्यवसाय सञ्चालन गर्नको लागि सुरुमा कृषि विकास बैंकबाट पाँच लाख ऋण लिए । त्यसपछि एक पछि अर्को गर्दै तरकारी खेती र माछापालन पनि सुरु गरे। अहिले उनको खोरमा एक हजार कुखुरा छन् । एउटा माछापोखरी छ। तीन रोपनी जमिनमा दुई पोलीहाउसभित्र काउली, गोलभेडा, भान्टा, सिमला खुर्सानी, काँक्रा आलु लगायतका तरकारीहरु लगाएका छन् । उनले उत्पादन गरेको माछा घरबाटै बिक्री भएर सकिन्छ ।